एमबाप्पे मोस्ट भ्यालुएबल खेलाडी



लन्डन । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार क्लियन एमबाप्पे यस वर्ष विश्वको सर्वाधिक मूल्यवान (मोस्ट भ्यालुएबल) खेलाडी बनेका छन् ।
सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययनअनुसार सर्वाधिक मूल्यवान् खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका २३ वर्षे एमबाप्पेको मार्केट भ्यालु २ सय ५ दशमलव ६ मिलियन यूरो रहेको बताइएको छ । खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था र मुद्रास्फीति जस्ता विषयलाई अध्ययन गर्दै सीआईईएसले यस वर्ष निकालेको रिपोर्टमा एम्बाप्पे शीर्ष स्थानमा रहेको हो ।

त्यस्तै, मूल्यवान खेलाडीको सूचीमा दोस्रो स्थानमा स्पेनिस क्लब रियल मेड्रिडका ब्राजिली युवा स्टार भिसिनियस जुनियर रहेका छन् । च्याम्पियन्स लिगको फाइनलमा विजयी गोल गरेका जुनियरको बजार मूल्य १ सय ८५ दशमलव ३ मिलियन यूरो रहेको छ । त्यस्तै, गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमन्डमा खेलेका नर्वेजियन एर्लिङ ब्राउट हालान्ड १ सय ५२ दशमलव ६ मिलियन यूरोसहित सूचीको तेस्रो स्थानमा रहेका छन् । स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका पेड्री १ सय ३५ दशमलव १ मिलियन युरोसहित चौथो स्थानमा रहेका छन् ।

त्यस्तै, बोरुसिया डर्टमन्डका इंग्लिस स्टार जुड बेलिङघम १ सय ३३ दशमलव ७ मिलियन युरोसहित पाँचौँ स्थानमा रहेका छन् । उनी सर्वाधिक महँगो मूल्य हुने इंग्लिस खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । सूचीको छैटौँदेखि दशौंस्थानसम्म क्रमशः फिल फोडेन, फ्रान्की डि जोङ, लुइस डियाज, रुवेन डियास र फेरान टोरेस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्