मानेको ह्याट्रिकमा सेनेगल विजयी



लन्डन  ।

इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेको कीर्तिमानी ह्याट्रिकमा सेनेगल विजयी भएको छ । अफ्रिका कप अफ नेसन्स छनोट चरणअन्तर्गतको खेलमा सेनेगलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बेनिनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बेनिनका जुनियर ओलाइटनले एक गोल फर्काएका थिए ।

सेनेगलमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको २२औं मिनेटमा मानेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेका थिए । खेलको ५१औं मिनेटमा पाहुना टोली बेनिन १० खेलाडीमा समेटिन पुग्यो । सेस्सी डिअल्मेइडा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोलीलाई जित निकाल्न थप सहज भएको थियो । खेलको ६०औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि सेनेगल खेलमा ३–० ले अघि बढ्यो ।

८८औं मिनेटमा जुनियरले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सेनेगल विजयी हुन सफल भयो । बेनिनविरुद्धको ह्याट्रिकसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हेनरी कामराको २९ गोलको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् । २०१२ देखि राष्ट्रिय टोलीमा रहेका मानेले ९० क्याप जित्दा ३२ गोल गरेका छन् । मानेले २०१२ मा सेनेगलका लागि डेब्यु गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्