अख्तियारलाई चुनौति दिँदै खुल्यो समाजकल्याणको टेण्डर अनियमितताको आशंकामा छानविन, टेण्डर नै रद्द हुने सम्भावना, समाजकल्याणका को-को तानिने हुन् ?



काठमाडौं । अन्ततः अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई नै चुनौति दिँदै समाजकल्याण परिषद्ले आफ्नो स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गाको टेण्डर बुधबार खोलेको छ । ५ वर्षका लागि मनोरन्जनात्मक खेल सञ्चालन गर्न भन्दै परिषद्ले टेण्डर आह्वान गरेको थियो ।

बुधबार खोलीएको टेण्डरमा ४ प्रतिस्पर्धी रहे पनि यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुल्यांकन गरेको जग्गाको दर भन्दा निकै सस्तोमा टेण्डर परेकाले उक्त टेण्डर नै रद्द हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

बुधबार खोलीएको टेण्डरमा ५ वर्षका लागि २५ रोपनीको एक मुष्ट रकम अमात्य इन्टरनेशनलले १२ करोड ५ लाख ३३ हजार ३ सय ४७ रुपैया २७ पैसा, महाकला कन्ट्र्क्सनले ११ करोड २९ लाख ८८ हजार ७ सय रुपैया, गुडवील मल्टी सप्लायर्सले ८ करोड ७८ लाख ८८ हजार ८ सय ८८ रुपैया र स्वयम्भू पिसजोन होटलले ८ करोड ५८ लाख ४९ हजार ८ सय ५८ रुपैया ३८ पैसा कायम छ ।

तर, हाल टेण्डर खोलीएको जग्गा विगतमा काठमाडौं फनपार्कमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकै जग्गा भएको र फनपार्कमाथि तीन वर्ष अघि नै आयोगले मुद्दा दायर गर्ने क्रममा प्रति रोपनी ७८ हजार ५ सय १ रुपैया मुल्य कायम गरेकाले त्यो रकम भन्दा निकै कम न्यूनतम मुल्य कायम गरी बोलपत्र आह्वान गर्नु नै अनुचित कार्य गरेको आशंकाप्रति बल पुग्छ । यसै कारण पनि परिषद्का जिम्मेवार पदाधिकारी यस प्रकरणमा मिलोमतोको आशंकामा छानविनमा तानिने संकेत देखा परेको छ ।

बोलपत्रको सुरुवाती प्रक्रियामै अनियमितता देखिएकाले छानविन प्रक्रियालाई प्राथमिकताका साथ हेरिने अख्तियार स्रोतले बतायो । ‘मिलोमतोमा टेण्डर खोल्ने गोप्य चलखेल भइरहेको भन्दै परिषद्का पदाधिकारीमाथि आक्षेप लगाउँदै यसअघि नै उजुरी परिसकेको छ, उजुरीलाई प्राथमिकताका साथ हेर्ने कार्य भइरहको छ’, अख्तियार स्रोतले भन्यो, ‘टेण्डरको स्वरुप र आयोगमा प्राप्त सूचनाले मिलोमतो हुन सक्ने सम्भावना छ ।’

समाज कल्याणको भृकटीमण्डपस्थित जग्गाको टेण्डर पार्ने अमात्य इन्टरनेशनलका सञ्चालक हरिगोपाल प्रधान यसअघि सोही स्थानमा मेला सञ्चालन गर्दै आएका व्यक्ति हुन् । २०५० को दशकमा लामो समय भृकुटीमण्डपमा मेला सञ्चालन कार्य गर्दै आएका हरिगोपाल प्रधान देशका विभिन्न स्थानमा हुने मेलामा खेल कार्य सञ्चालन गर्ने ठेगेदारका रुपमा परिचित छन् ।

परिषद्का एक कर्मचारीका अनुसार प्रधानले टेण्डर आह्वान गराउने सन्दर्भमा पटक पटक भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रम्ख रामराज भट्टराई र परिषद्का अन्य पदाधिकारीलाई भेट्ने गरेका थिए । समाजकल्याणका प्रायः कर्मचारीसँग हाल टेण्डर पार्ने हरिगोपाल प्रधानको राम्रो उठबस छ ।

आयोगलाई नै चुनौति दिने गरी गरिएको टेण्डर प्रक्रियाको सुरुवातीमै अनियमितता देखिएपछि उक्त टेण्डर रद्द गराउने बारे अख्तियारमा परेको उजुरी प्राथमिकताका साथ हेरीएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्