रियल कीर्तिमानी १४औं पटक च्याम्पियन



लन्डन  । 

स्पेनिस ला लिगा क्लब रियल मेड्रिड कीर्तिमानी १४औं पटक यूईएफए च्याम्पियन्स लिगको विजेता बनेको छ । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई १–० गोलअन्तरले पराजित गर्दै रियल कीर्तिमानी १४औं पटक च्याम्पियन बनेको हो । सन् २०१८ पछि च्याम्पियन बन्न सफल भएको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको हो ।

पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियलले फाइनलमा आफ्नै सहरी प्रतिद्वन्दी एट्लेटिको मेड्रिडलाई हराएको थियो । त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो ।पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

खेलको ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले ब्लक गर्दै रियलको संकट टारे । लगत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नाेल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाएका थिए ।रियलसँगको हारसँगै लिभरपुल यो सिजन तीन उपाधि जित्न सकेन । यो सिजन चार उपाधि जित्ने संघारमा रहेको लिभरपुल दुई उपाधिमा खुम्चियो । लिग कप र एफए कप जितेको लिभरपुल प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधिबाट बञ्चित बन्यो ।

त्यस्तै, लिभरपुलले २०१८ मा भोगेको हारको बदला लिनसमेत असफल रह्यो । लिभरपुल त्यतिबेला ३–१ ले पराजित भएको थियो । रियलसँग हारेसँगै पछिल्लो ५ सिजनमा तेस्रोपटक फाइनल खेलेको लिभरपुलले एसी मिलानसँगको उपाधि बराबरी गर्ने अवसर समेत गुमायो । मिलानले सातपटक तथा रियलले ६ पटक उपाधि जितेको छ ।

एन्सेलोटीको कीर्तिमान

रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । शनिबार राति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर रियललाई २०२१–२२ को उपाधि दिलाएसँगै एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका हुन् । प्रशिक्षक एन्सेलोट्टीले च्याम्पियन्स लिगको सर्वाधिक उपाधि जित्ने प्रशिक्षकमा बोब पेस्ली र जिनेदिन जिदानलाई पछि पारेका हुन् । उनीहरुले समान तीन उपाधि जितेका छन् ।
प्रशिक्षक एन्सेलोट्टी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत हुन् । रियललाई यस सिजन स्पेनिस ला लिगाको उपाधि दिलाएका एन्सेलोटीले इटाली, फ्रान्स, इंग्ल्यान्ड र जर्मनीको शीर्ष लिगको उपाधि जिताएका छन् । बोब पेस्लीले इंग्लिस क्लब लिभरपुलबाट सन् १९७७, १९७८ र १९८१ म तथा जितेदिन जिदानले २०१६, २०१७ र २०१८ मा रियल मेड्रिडबाटै ह्याट्रिक उपाधि जितेका थिए । प्रशिक्षकको रुपमा चार च्याम्पियन्स लिगको उपाधि जितेका एन्सेलोट्टीले खेलाडीको रुपमा एसी मिलानबाट १९८९ र १९९० मा उपाधि जितेका छन् । यसले समग्रमा ६ उपाधि जितेका एन्सेलोट्टीले पाको जेन्टोको कीर्तिमानलाई बराबरी समेत गरेका छन् । एन्सेलोटीले यसअघि इटालियन क्लब एसी मिलानबाट सन् २००२–०३ र २००६–०७ को सिजन उपाधि दिलाएका थिए । एन्सेलोटीले रियललाई २०१३–१४ को सिजनमा उपाधि दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्