मिलान सिरी ‘ए’ च्याम्पियन



रोम  । 

एसी मिलान इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ च्याम्पियन बनेको छ ।जारी सिजनको सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३–० गोलअन्तरले पराजित गर्दै मिलान १९औं पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो । यसपटक एसी मिलान ११ वर्षपछि सिरी ‘ए’ च्याम्पियन बन्न सफल भयो ।

यसअघि, मिलान सन् २०१०–११ को सिजनमा च्याम्पियन बनेको थियो । सस्सुलोको मैदानमा आइतबार राति भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केस्सीले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो ।खेलको १७औं मिनेटमा ओलिभर जिरुडको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । उनले राफायल लियोको पासमा गोल गरेका थिए । खेलको ३२औं मिनेटमा जिरुडले लियोकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा फ्रान्क केस्सीले लियोकै पासमा गोल गरेपछि मिलान पहिलो हाफमा ३–० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै मिलानलाई च्याम्पियन बन्न पर्याप्त बन्यो ।

यो नतिजासँगै मिलानले ३८ खेलबाट ८६ तथा दोस्रो स्थानमा रहेको इन्टरले ८४ अंक जोड्यो । सस्सुलो ५० अंक जोडेर ११औं स्थानमा रह्यो । इन्टर मिलानको प्रशिक्षण सम्हालिसकेका स्टेफानो पिओलीकै प्रशिक्षणमा मिलानले आफ्नो पुर्व क्लब इन्टरलाई दुई अंकले पछि पार्दै उपाधि जित्न सफल भयो । पिओलीलाई सन् २०१९ मा इन्टरको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसैगरी, अनुभवी स्ट्राइकर ज्लाटन इब्राहिमोभिच मिलानबाट दोस्रो पटक सिरी ‘ए’ जित्ने सदस्य बने । सन् २०११ म मिलान च्याम्पियन बन्दा उनी टोलीको सदस्य रहँदा ४० वर्षीय ज्लाटन यसपटक च्याम्पियन बन्दा टोलीकै सदस्य रहे ।

त्यस्तै अर्को खेलमा उपाधि दौडमै रहेका इन्टर मिलानले साम्पडोरियालाई घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेपनि सिमओन इन्जाघीको टोलीले शहरी प्रतिद्वन्द्वीलाई उपाधिबाट वञ्चित गराउन सकेन । इन्टरको जितमा जोआक्विन कोरेआले दुई तथा इभान पेरिसिसले एक गोल गरे । शीर्षस्थानमा रहेको मिलानको जितले इन्टर मिलान लगातार दोस्रो सिजन च्याम्पियन बन्नबाट वञ्चित बन्यो । अर्काे खेलमा स्पेजियामाथि ३–० कै जित निकाल्दै नेपोली तेस्रो स्थानमा रह्यो । मासिमिलियानो एलेग्रीको प्रशिक्षणमा यो सिजन निकै खराब प्रदर्शन गरेको युभेन्ट्स चौथो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्