मुम्बई कोलकातासँग पराजित



नयाँ दिल्ली ।

 यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार पनि हार बेहोरेको छ । कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको थियो । १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा सीमित भएको थियो ।

मुम्बईका लागि ईशान किशनले अर्धशतकीय इनिङ्स खेले । ४३ बलमा उनले ५१ रन जोेका थिए । किरोन पोलार्डले १५ र टिम डेभिडले १३ रन बटुले । कोलकाताका लागि पाट कुमिन्सले ३, आन्द्रे रसलले २ र टिम साउदीले १ विकेट लिएका थिए ।त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको कोलकाताले वेङकेटेश अयर, नितिश राणाको उच्च प्रदर्शनमा ९ विकेटको क्षतिमा १ सय ६५ रन जोडेको थियो । अय्यर र राणाले समान ४३ रन जोडेका थिए ।

अय्यरले २४ र राणाले २६ बलमा समान ४३ रन बटुलेका थिए । अजिन्के रहाणेले २४ बलमा २५ रन बनाए । मुम्बई इन्डियन्सका जसप्रित बुम्राहले ४ ओभरमा ५ विकेट लिए । कुमार कार्तिकेले २ र डानियल साम्सले १ विकेट लिएका थिए । कोलकाता १२ खेलमा १० अंक जोड्दै सातौं स्थानमा छ । ११ खेलमा ४ अंक मात्र जोडेको मुम्बई अंक तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्