सागमा स्वर्ण विजेता सञ्जुको निधन



काठमाडौं । 

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छन् ।

प्रशिक्षणकै क्रममा केही दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जु बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज वरिष्ठ सई सन्तोष बरालले जानकारी दिए । वरिष्ठ सई बरालका अनुसार सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले जानकारी दिए ।

बाँके राप्ती सोनारी गाउँपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुईवर्ष अघि स्वदेशमा भएको १३औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली भारोतोलन खेलाडी हुन् । उनी केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन् ।

नेपाल भारोत्तोलन संघका महासचिव एवं पूर्वमुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्ताले सोमबार प्रशिक्षक महर्जनको घरमा भोज हुँदा सञ्जुसँग भेट भएको र उनलाई आफूले सामान्य अवस्थामा पाएको जानकारी दिए । घटना थाहा पाएपछि आफू महर्जनको घर पुगेको गुप्ताले बताए । वरिष्ठ सई बरालका अनुसार सञ्जुको काका–काकीको रोहबरमा मुचुल्का उठाउन काम भइरहेको छ ।

सञ्जुलाई अन्तिम श्रद्धाञ्जलि

१३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्णपदक दिलाउन सफल खेलाडी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार अन्तिम श्रद्धाञ्जलि अर्पण गरियो । स्व. चौधरीको पार्थिव शरीरमा सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फूलमाला र अबिरबाट श्रद्धाञ्जलि अर्पण गरे ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फूलमालाले श्रद्धाञ्जलि व्यक्त गरे । यस्तै, राखेपका विभागीय प्रमुखहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, कर्मचारीहरू, खेलाडी तथा खेलकर्मीहरूले स्व. चौधरीको पार्थिव शरीरमा अबिर र फूलमालाले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्