नेपाललाई दोस्रो खेलमा सफलता



काठमाडाैं  । 

नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा जिम्बावे ‘ए’ माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसीय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पँरा गरेको थियो । नेपालका ओपनर सुनील धमला ३८ रनमा आउट भए । उनले ३८ बलमा ८ चौका प्रहार गरेका थिए ।
यसपछि, आसिफ शेख ३४ रन र विनोद भण्डारी ३ रनमा नटआउट रहे । आसिफले ३१ बलमा ६ चौका प्रहार गरेका थिए । पहिलो विकेटका लागि सुनील र आसिफले १०.३ ओभरमा ७९ रनको साझेदारी गर्दै जित पक्का गरेका थिए । जिम्बावेका ब्रेन्डन मभुताले १ विकेट लिए ।

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावेको टोली ३१.५ ओभरमा मात्र ८७ रनमा अलआउट भएको थियो । टोलीका लागि तल्लो क्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ब्राड इभान्सले ३५ बलमा १ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

करण केसी र सोमपाल कामीले घातक बलिङ गरेपछि जिम्बावेका खेलाडी टिक्न सकेनन् ।करणले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए । सोमपालले ७ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । तेस्रो तथा अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ ।

पहिलो खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई ३ विकेटले हराएको थियो । यसअघिको तीन टि–२० अभ्यास खेल भने १–१ को बराबरीमा सकिएको थियो । जसमा, एक खेल वर्षाको कारण रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्