महानगरको ग्रामीण वडामा धारा पुग्यो पानी पुगेन



विजय नेपाली, पोखरा । 

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारले चुनावी घरदैलो गरिरहेका छन् । उनीहरूले सम्मुनत पोखरा बनाउनेदेखि विकासका पूर्वाधार बनाउनेसम्मको काम घोषणापत्रमा राखेका छन् ।

यस्तै, चुनावी अभियानमा होमिएको गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएकी कोपिला रानाभाटले पोखरा–१८ सराङकोटको एक चुनावी सभाको सम्बोधन गर्दै गर्दा अचानक खोकी लाग्यो । पानीको व्यवस्थापन थिएन् । गाउँ हो पानीका मुहान हुन्छ भन्ने सामान्यतयाः सबैको मानसिकता हुन्छ ।तर सराङकोटको सवालमा भने त्यो छैन । पानीको चरम अभाव खेपिरहेको सराङकोटमा उहाँलाई पानीको आवश्यकता पर्दा तत्कालै पानीको व्यवस्था भएन । त्यसको केही क्षणपछि बोतलको पानी पाएपश्चात् औषधि खाँदै पानी पिउनुभयो । रानाभाट मात्रै होइन धनराज आचार्य, कृष्ण थापा, मञ्जु गुरूङ, गणेश पौडेल, शंकर खराल सबैको हालत उही हुनेछ ।

सराङकोट, कास्कीकोट, कालिका, माझाठानालगायत महानगरभित्र नै पर्ने वडाहरूमा पानी नहुँदा निकै समस्या खेप्न बाध्य भइरहेका छन् ।
यसरी चुनावको बेला त्यहाँ कयौँ उम्मेदवार आए मत मागे मत पाए विजयी भए गए । कसैले केही गरेनन् । कहिले एमाले त कहिले कांग्रेसले चुनाव जितिरह्यो तर त्यहाँका जनताका समस्या फेरिएनन् । पाँच वर्षअघि स्थानीय सरकार आयो नेकपा एमालेले दुईतिहाइ बहुमतसहित नेतृत्व लियो तर, समस्या भने ज्युँका त्युँ नै रह्यो । यो समस्या सराङकोटको मात्रै होइन् । गर्विलो इतिहास रहेको पोखरा २४ कास्कीकोट, पोखरा २८ कालिकाको पनि हो ।

पोखरा महानगरपालिका बनेसँगै विकासले परिवर्तन हुने सोच राखेर जनप्रतिनिधिलाई मत दिए मत त पाए तर विकास पाएनन् । पाँच वर्षपछि फेरि अहिले निर्वाचन आएको छ निर्वाचनमा एमाले, गठबन्धन, राप्रपा, स्वतन्त्र उम्मेदवार सबै मत माग्न आउँछन् महानगरमा रहेका गाउँको एउटै प्रश्न छ ‘पानी कहिले पाइन्छ ?’ अहिले कुनै पनि पार्टीमा नैतिकता नै देखिँदैन । हरेक पटक चुनावी एजेन्डा बन्दै आएको पानीको समस्याले नै वडामा जितिरहेका छन् । सबैको एजेन्डामा एक घर एक धारा नारा नै रहेको छ ।

राजनीतिक पार्टीकाका नेता तथा उम्मेदवार निकै चलाख छन् । एजेन्डा अनुसार एक घर एक धरा त आउन थाल्यो तर पानी भने बगेन ।
पोखरा–२८ माझाठान डाँडागाउँकी श्रीमाया नेपालीको दैनिकीको आधा दिन पानी बोक्नमै जान्छ । १४ वर्षकै उमेरमा विवाह भएको उहाँको उमेर ४१ भयो । गाउँमा पानी आउँछ सबै स्थानीय एकै ठाउँमा पानी भर्न जान्छन् । धेरै पाए २ गाग्री पानी पाइन्छ । त्यो पानी न त पिउन पुग्छ न त खाना पकाउन ।

चौपायालाई खुवाउन, लुगा धुने, नुहाउने तथा अन्य कामका लागि पानी लिन अझैँ पनि करिब आधा घण्टाको बाटो तय गर्नैपर्छ । ‘हामीले थाक खानेपानी खान्थ्यौँ अहिले त्यो पनि बाटाका कारण आउन छाडेको छ । खानेपानीको निकै दुःख छ । कसैले केही गर्दैनन्’, उहाँले भन्नुभयो– ‘धेरै समय तल पधेँरोबाटै बोकेर खाइयो त्यसपछि खाल्टे खानेपानीको पानी आउन थाल्यो त्यो पनि दिनको एक दुई गाग्री मात्र पाइन्छ ।’

पाइपमा पानी आए पनि धारा भने नपुगेको उहाँ बताउनुहुन्छ । सरकारले ल्याएको पानी अपुग भएपछि बेसी झर्न बाध्य भएको सुनाउनुहुन्छ । ‘पानीको सदुपयोग नै भएन । ठूलो परिवार हुने त अहिले पनि डोको बोकेरै जानुपर्छ । यहाँ पानी कहिले दुई महिनामा आउँछ कहिले ६ महिनामा ।’

कालिकाकै ५६ वर्षीया पार्वती ढकालले पनि अहिलेसम्म पानीको दुःख भएको सुनाउनुहुन्छ । ‘यहाँ स्वास्थ्य चौकी छन्, सानो बजार छ, विद्यालय, उच्च माध्यमिक विद्यालय पनि छन् तर सबैक्षेत्रका लागि एउटा मात्र धारा छन्’, उहाँले भन्नुभयो– ‘हामीले त्यति बेला एक घर १५ हजार रूपियाँका दरले पनि उठाएर सिस्नेरीबाट सोलारबाट पानी ल्याएका थियौँ । त्यो पानी आएकै थिएन् । अलिअलि आउन लागेको थियो सबै धारा बन्द गरेर छहरे पानी देखाएर नेताहरूले उद्घाटन गर्नुभयो । त्यहाँबाट ४ दिन विराइ, कहिले ५–६ महिना पनि पानी आउँदैन् ।’

कालिकामा पहिला थाक खोलाबाट पानी ल्याइएको थियो करिब ३० वर्ष अघि थाक खानेपानी आयोजना सञ्चालनमा ल्याइएपनि पछिल्लो दुई वर्षदेखि पानी आउन छाडेको छ । उक्त गाउँ मानबहादुर जिसीको गाउँ हो । पोखराका मेयर जिसीकै गाउँमा २ वर्षदेखि पानी आएको छैन् ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेस, नेकपा एमालेले केन्द्रीय नेता तथा मन्त्रीसम्म पाए तर कसैले पनि जनताको मर्म बुझनै सकेनन् ।

यस्तै, समस्या सुनाउनुहुन्छ सराङकोटका मिन बहादुुर थापा । सरकार भएको अनुभव गर्न नपाएको गुनासो गुनासो उहाँको छ । ‘पोखराको महत्वपुर्ण ठाउँ भयो तर विकास भएन, ‘थापाले भन्नुभयो– ‘पानी अन्य ठाउँमा ल्याइयो तर हाम्रोमा आएन ।’ स्थानीय हिमकला थापाले पानीको समस्या रहेको गुनासो पोख्नुभयो । उहाँले ग्यारजातीलाई स्थानीय सरकारले हेला गरेको दुखेसो पोख्नुभयो ।

पोखराका ग्रामिण भेगमा यो समस्या निकै जटिल रहेको छ । कतिपय स्थानमा धारा बनेको छ पानी बगेको छैन् । स्थानीयहरू पाँच वर्ष अघि दिएको मत अहिले पनि झलझली सम्झिरहेका छन् । उनीहरूले त्यतिबेला एमालेका मानबहादुर जिसी र मञ्जुदेवी गुरूङलाई मत दिएको कुरा भुलेका छैनन् र अहिले पनि भन्छन्,‘भोट माग्ने बेलासम्म त हो सबै गरिदिने त्यसपछि बिर्सिहाल्छन् ।’ अहिले फेरि उम्मेदवारहरू उनीहरूको घर–आगनमा पुगेका छन् ।

विकासको ठूलो लहर सुनाउँछन्, तर उनीहरूलाई विश्वासै लाग्दैन् । देशको राजनीतिमा स्थिरता नदेखिएपछि संघीय संरचनामा जादाँ दुईतिहाइ मत दिँदा समेत हुन नसकेको विकास अब हुन्छ भन्नेमा उनीहरू आस नै गर्दैनन् । उम्मेदवारहरू घरघर पुगेर मत मागिरहे पनि यसको तत्कालै समाधान गर्ने गरी कोही पनि लाग्दैनन् ।

जनप्रतिनिधिले स्थानीयको समस्याको समाधान अहिलेसम्म गर्न नसक्दा उनीहरूमा निरासा छाएको प्रष्ट देखिन्छ । पोखरा महानगरवासीले नै अहिलेसम्म काकाकुल अवस्थामा बस्नुपरेको छ ।एकातिर गाउँवासीले पानी पिउन पाएका छैनन् भने अर्कातिर राजनैतिक पार्टीहरूले अहिले चुनावी सभा, घरदैलो गर्दा भने ठूलो मात्रामा पानीको प्रयोग गरिरहेका छन् । सबै पार्टीहरूको चुनाव जित्ने ध्येय मात्रै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्