पन्जाबले शीर्षस्थानको गुजरातलाई हरायो



नयाँ दिल्ली  ।

पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार राति शीर्षस्थानको गुजरात टाइटन्सलाई ८ विकेटले सहजै पराजित गरेको छ । पन्जाबले यो जितसँगै प्लेअफमा खेल्ने सम्भावनालाई जीवितै राखेको छ ।

जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पाएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । पन्जाबको यो जारी आईपीएलमा पाँचौं जित थियो भने गुजरातको यो दोस्रो हार थियो ।टोलीको जितमा शिखर धवनले ५३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए । यस्तै, भानुका राजपक्ष २८ बलमा ५ चौका र १ छक्कासहित ४० रन बनाएर आउट भए । लियाम लिभिङस्टोनले १० बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडेका थिए ।

१६औं ओभरमा लिभिङस्टोनले तीव्र गतिका बलर मोहम्मद शामीको लगातार तीन बलमा छक्का र २ चौका प्रहार गर्दै कुल २८ रन बटुलेका थिए । गुजरातका मोहम्मद शामी र लोकी फर्गुसनले १–१ विकेट लिए ।त्यसअघि, डीवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

गुजरातका शाई सुदर्शनले ५० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाएका थिए । अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । ऋद्धिमान शाह २१, सुभमन गिल ९, डेविड मिलर र राहुल टेवाटिया ११–११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्