कांग्रेसको पूर्वनिर्धारित भ्रातृ संस्थाको अधिवेशन स्थगित

0
Shares

काठमाडौं  । 

नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाको अधिवेशन स्थगित गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाको पूर्वनिर्धारित अधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो ।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संंस्थाको अधिवेशन÷महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन÷महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्ने गरी पूर्वनिर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगित गर्नुहुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थालाई निर्देशानुसार जानकारी गराइएको छ ।’
यसअघि २०७८ फागुन ३ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले अवधि समाप्त भइसकेका भ्रातृ संघका केन्द्रीय समितिहरु विधानको धाारा ४२ (१) ‘च’ अनुसार स्वतः विघटन भएको भन्दै केन्द्रीय सभापतिले आवश्यक परामर्श गरेर २०७८ फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम गत चैत्र ९ गते सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान् गुरुङलाई नियुक्त गरी तदर्थ समिति गठन गर्नुभएको थियो । यो तदर्थ समितिलाई स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण सांगठनिक संरचनाहरु, भ्रातृ संघहरु, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समितिहरुसमेत क्रियाशील रहेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले भनेको छ– ‘पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरु स्थानीय तह निर्वाचन परिचालन तथा प्रचारप्रसारलगायतका कार्यमा क्रियाशील रहेकाले केही भ्रातृ संघ र शुभेच्छुक संस्थाको पूर्वनिर्धारित अधिवेशन÷महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्र्दभिक र सम्भव देखिएन ।’