धोनी कप्तानमा फर्किंदा चेन्नाईमा ऊर्जा



नयाँ दिल्ली  । 

महेन्द्रसिंह धोनीले कप्तानी सम्हाल्नेबित्तिकै चेन्नाई सुपर किंग्समा ऊर्जा थपिएको छ । सोमबार राति भएको आईपीएलको खेलमा चेन्नाईले २ सय २ रन बनाएको थियो ।

यो विशाल स्कोरको सहायतामा चेन्नाईले लयमा रहेको सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको थियो । यो चेन्नाईको जारी आईपीएलमा तेस्रो तथा धोनीको कप्तानीमा पहिलो जित पनि थियो । धोनी शनिबार कप्तानमा फर्केका थिए ।यसअघि, चेन्नाईका कप्तान रविन्द्र जडेजा थिए । जडेजाको कप्तानीले टोलीको राम्रो प्रदर्शन भएको थिएन । ८ खेलमा २ मा मात्रै जित हात पार्न सकेको थियो । यो अमिलो नतिजाको कारण धोनीलाई फेरि कप्तानको भूमिका दिइयो र जित पनि हात पारेको छ । धोनीको अनुभवीमा चेन्नाईका बलरले राम्रो बलिङ पनि गरेर हैदराबादलाई १ सय ८९ रनमा रोकेका थिए ।

हैदराबादको तर्फबाट विकेटकिपर निकोलास पुरनले शानदार ब्याटिङ गरेका थिए । उनले ३३ बलमै ६४ रन जोडेका थिए । तर, उनले टोलीलाई लक्ष्यमा भने पु-याउन सकेनन् । कप्तान केन विलियमनसन ४७ रनमा आउट भएपछि नै हैदराबाद पराजयतिर धकेलिएको थियो । चेन्नाईका तीव्र गतिका बलर मुकेश चौधरीले उनको विकेट लिएका थिए ।

मुकेशले निकै राम्रो बलिङ गर्ने क्रममा ४ विकेट हात पारेका थिए ।पहिले ब्याटिङ गरेको चेन्नाईका लागि ओपनर ऋतुराज गायकवादले शानदार ब्याटिङ गरे । पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियमको मैदानमा उनले ९९ रन बनाएका थिए । उनी एक रनले आईपीएलमा व्यक्तिगत दोस्रो शतक प्रहार गर्न चुकेका थिए । शतकतिर अग्रसर भएको अवस्थामा उनलाई टि नटराजनले क्याच आउट गराएका थिए । ५७ बलको सामना गरेका उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।

चेन्नाईका लागि अर्का ओपनर डेभन कन्वेले ५५ बलमा ८ चौका र ५ छक्कासहित ८५ रन बनाए । पहिलो विकेटका लागि कन्वे र गायकवाडले १७.५ ओभरमा १ सय ८२ रनको साझेदारी गर्दै विशाल स्कोरतिर अघि सारेका थिए । ड्वेन ब्राभोको स्थानमा कन्वेले मौका पाएका थिए । तर, कप्तानमा फर्केका धोनी ८ रनमा आउट भए ।

हैदराबादका नटराजनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।चेन्नईले अव बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । चेन्नई प्ले अफमा पुग्न बाँकी ५ खेलमा जित निकाल्नुपर्ने हुन्छ । बाँकी ५ खेलमा जित निकाल्दा कुल १६ अंक हुने हुँदा प्लेअफको सम्भावना देखिन्छ । हैदराबादले बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । हैदराबाद भने प्लेअफ दौडमा बलियो अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्