रोहितको जन्मदिनमा मुम्बईलाई जितको स्वाद



नयाँ दिल्ली । 

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले जारी आइपीएल २०२२ मा जितको स्वाद चाखेको छ ।मुम्बईले शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ हारमा पूर्णविराम गरेको हो ।

मुम्बईको यो लगातार ९ खेलमा पहिलो जित थियो । टोलीले कप्तान रोहित शर्माको जन्मदिनमा जित हासिल गरेको थियो । तर, आफ्नो जन्मदिनमा उनले राम्रो ब्याटिङ भने गर्न सकेनन् । उनी २ रनमा पभेलियन फर्केका थिए ।मुम्बईले १ सय ५९ रनको विजयी लक्ष्य १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । टोलीको जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै तिलक बर्माले ३० बलमा १ चौका र २ छक्कासहित ३५ रन बनाए ।

सूर्य र तिलकले तेस्रो विकेटका लागि ५६ बलमा ८१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ईशान किशनले २६ रन र कप्तान रोहित शर्मा आउट भएपछि उनीहरूले शानदार ब्याटिङ गरेका थिए । उनीहरु १ सय २२ को स्कोरमा आउट भएपछि भने मुम्बईलाई केही दवाव भएको थियो ।तर, टिम डेभिड र किरोन पोलार्डले टोलीको जित सुनिश्चित गरेका थिए । पोलार्ड १० रनमा आउट भए भने डेभिड ९ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन अश्विन र युजभेन्द्र चहलले १–१ विकेट लिएका थिए ।

यसअघि, डाक्टर डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । टोलीका जोस बटलरले ५२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । बटलरले रन बनाउन संघर्ष गरेका थिए । राजस्थानले १५ ओभरको समाप्तिसम्म ३ विकेटको नोेक्सानमा १ सय २ रन बनाएको थियो ।

बटलरले १६ औं ओभरमा स्पिनर ऋतिक शोकिनका लगातार चार बलमा छक्का प्रहार गरेर रनगति बढाएका थिए । जारी आइपीएलमा बटलरले ९ खेलमा ३ शतक र ३ अर्धशतकसहित ५ सय ६६ रन बनाइसकेका छन् । उनी सर्वाधिक रन बनाउने सूचीमा शीर्षस्थानमा छन् ।देवदत्त पाडिक्कल १५, सन्जु स्यामसन १६, डेरिल मिचेल १७, रियान पराग ३ र अश्विन २१ रनमा आउट भए । मुम्बईको बलिङमा ऋतिकले ३ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्