रियल मेड्रिड ला लिगा च्याम्पियन



लन्डन  । 

रियल मेड्रिड जारी सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । ला लिगाअन्तर्गत स्पान्योलमाथि सानदार जित निकाल्दै रियल मेड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको हो । घरेलु मैदानमा स्पान्योललाई ४–० गोल अन्तरले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै लिग च्याम्पियन बन्न सफल भएको हो ।
स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । रियलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो । खेलको शुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखे पनि रियलले गोलको लागि ३३औं मिनेट कुर्नुपरेको थियो । खेलको ३३औं मिनेटमा रोड्रिगोले कप्तान मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।खेलको ५५औं मिनेटमा मार्काे एसेन्सियोले इडुआर्डाे कामाभिंगाको पासमा गोल गर्दै रियललाई सहज जिततर्फ अग्रसर गराए । खेलको ७२औं मिनेटमा इस्कोले गोल गरेपनि अफसाइड ठहरिँदा गोलले मान्यता पाएन । त्यसपछि ८१औं मिनेटमा परिवर्तित फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६०औं मिनेटमा मारियानो डियाजको स्थानमा मैदान छिरेका बेन्जेमाले अर्का परिवर्तित खेलाडी भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए ।

भिनिसियस ७५औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका थिए ।रियलको यो समग्रमा ३५औं ला लिगा उपाधि हो । रियल पछिल्लोपटक २०१९–२० को सिजनमा च्याम्पियन बनेको थियो । यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेल खेल्दा २५ मा जित, ६ बराबरी र ३ हारको नतिजा निकाल्यो । यो जितसँगै शीर्षस्थानमा रहेको रियल मेड्रिडको ३४ खेलबाट ८१ अंक पुगेको छ । रियल दोस्रो स्थानमा रहेको सेभियालाई १७ अंकले तथा एक खेल कम खेलेको बार्सिलोनालाई १८ अंकले पछि पार्दै उपाधि जितेको हो । अब रियललाई बाँकी चार खेलमा हार भोगे पनि च्याम्पियन बन्न कुनै बाधा हुनेछैन । पराजित स्पान्योलको भने ३९ अंक रहेको छ ।

शनिबारै भएको अर्को खेलमा स्पेनिस ला लिगाको शीर्ष चारको दौडमा रहेको एट्लेटिको मेड्रिड भने पराजित भयो । एट्लेटिको घरेलु टोली एथ्लेटिको विल्वाओसँग २–० ले पराजित भएको हो । सान मेमेसमा भएको उक्त खेलमा विल्वाओको जितमा इनाकी विलियम्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । आठौं मिनेटमा मारियो हर्माेसोको आत्मघाती गोलबाट अग्रता लिएको विल्वाओले ५६औं मिनेटमा इनाकी विलियम्सको पेनाल्टी गोलबाट जित पक्का ग-यो ।

घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दबाब बढाए पनि एट्लेटिकोले विल्वाओको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । यो हारसँगै एट्लेटिको मेड्रिडको ३४ खेलबाट ६१ अंक छ । अर्कोतिर एट्लेटिकोलाई हराएको विल्वाओको ५१ अंक छ । त्यस्तै, अर्काे खेलमा भ्यालेन्सिया र लेभान्टेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको भ्यालेन्सियाका ह्युगो डुरोले गोल गर्दा लेभान्टेका ओस्कार डुआर्टीले बराबरी गोल फर्काए । बराबरीपछि भ्यालेन्सियाको ३४ खेलबाट ४३ अंक भएको छ । त्यस्तै, लेभान्टेको २६ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्