नेपाल जिम्बावेसँग सहजै पराजित



काठमाडौं । 

नेपाली क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० खेलमा हारको सामना गर्नुपरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा घरेलु टोली ६ विकेटले सहजै पराजित भएको हो । नेपालले पहिले ब्याटिङ गरेर १ सय ८२ रनको ठूलो लक्ष्य दिएको थियो । तर, नेपालले यो सुरक्षित लक्ष्यलाई जितमा परिणत गर्न सकेन र सहजै पराजित भयो ।

जिम्बावेका ओपनर इन्नोसेन्ट काइया र टाडीवानाशे मारुमानीले शुरुदेखि नै नेपाली बलरको हौसला कमजोर बनाइदिएका थिए । उनीहरूले आक्रमक ब्याटिङ गर्दै पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरे । सोमपाल कामी, करण केसी र दीपेन्द्र सिंह ऐरीको बलिङमा उनीहरूले कुल १२ चौका प्रहार गरेर नेपाली फिल्डरलाई तितरवितर पारिदिए ।

तर, सन्दीप लामिछानेले जब बलिङ गर्न आए, तब नेपालले पहिलो सफलता पायो । सन्दीपले आफ्नो दोस्रो ओभरमा इन्नोसेन्टलाई व्यक्तिगत ४७ रनमा आउट गरेर टोलीलाई खुसी पारेका थिए । ३० बलको सामना गरेका इन्नोसेन्टले ९ चौका प्रहार गरेका थिए । तर, यो खुसी नेपाली खेलाडीको लागि धेरै बेर टिकेन ।

इन्नोसेन्टको स्थान लिन आएका कप्तान टोनी मुनयोंगाले आक्रमक ब्याटिङ गरेर नेपाली बलरलाई लाचार बनाएका थिए । २३ बलमा ५० रन जोडेका उनले ७ छक्का प्रहार गरेका थिए । उनी र मारुमानीले दोस्रो विकेटका लागि ३४ बलमै ७२ रनको साझेदारी गरेर नेपाललाई हारतिर डो-याएका थिए । यो साझेदारी बसिर अहमदले तोडेका थिए ।ओपनर मारुमानी ५८ रन जोडेर आउट हुँदासम्म जिम्बावे जितनजिक पुगिसकेका थिए । उनलाई १ सय ६८ को स्कोरमा बासिरले नै आउट गरेका थिए । उनले ३ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यसपछि आएका ब्याटरले जितको औपचारिकता पूरा गरिदिए ।

नेपाली बलरमा बसिरले २ तथा सन्दीप र करणले १–१ विकेट लिएका थिए ।यसअघि, नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । घरेलु टोलीका आदिल अन्सारी ४७ रनमा अविजित रहे । नेपाली टोलीका लागि व्यक्तिगत सर्वाधिक योगदान दिएका आदिलले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रनमा बनाए ।यस्तै, नेपालको स्कोर बलियो बनाउन रोहित पौडेलले ३६ रन योगदान दिए । दीपेन्द्रसिंह ऐरी भने २८ रनमा रनआउटका शिकार भएका थिए । अन्यमा ओपनर आशिफ शेख ९ रन र आरिफ शेख २ रनमा आउट भए । करण केसी ४ रन बनाएर नटआउ रहेका थिए । जिम्बावेको बलिङमा ब्राड इभान्स, ल्युक जोंगे, ब्रान्डन मभुटा र जोन मसाराले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्