अलमुताइरीको पत्र एन्फालाई



काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेका छन् । उनले पत्र एन्फाका महासचिव इन्द्रमान तुलाधरको नाममा लेखेका हुन् । उनले अंग्रेजीमा लेखेको पत्रमा खेलाडीले आफुलाई नसोधी बन्द प्रशिक्षण छाडेको उल्लेख गरेको र खेलाडीले गरेको पत्रकार सम्मेलनले आफू निकै दुःखित भएको पत्रमा उल्लेख गरिएको थियो ।

अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरूलाई माफी दिएको र एन्फालाई कुनै कारबाही नगर्न आग्रह पनि गरेका छन् । उनले आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा निरन्तर काम गर्न इच्छुक रहेको पनि बताए ।अल्मुताइरीले राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार रहेको र त्यसै अनुरुप एसियन कप छनोटका लागि बाहिर रहेका खेलाडीलाई नराख्ने प्रष्ट पारेका छन् । उनले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आए पनि आफू जिम्मेवार रहने बताएका छन् ।

यसअघि, रोहित चन्दले अल्मुताइरीसमक्ष होस्टेलमा बस्दा सुविधाजनक नभएको गुनासो गरेका थिए । उनले होटल नै ठिक हुने बताएपछि अल्मुताइरीले उनलाई टोलीबाट निकालेका थिए । रोहितसँगै विमल घर्तीमगर, अञ्जन विष्ट, सुजल श्रेष्ठ, अनन्त तामाङसहित १० खेलाडी उक्त बन्द प्रशिक्षण छाडेका थिए । यसपछि यी खेलाडीले एक होटलमा अल्मुताइरीको ज्यादती भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उनीहरूले एन्फालाई यो विषयमा छानबिन गर्न पनि माँग गरेका थिए । तर, सूत्रको अनुसार एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको चुनाव नजिँकिदै गएकोले यस विषयमा पछि कुरा गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्