गोपी र राजपुरालाई उपाधि



काठमाडौं ।

नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् ।

वीर गणेशमान सिंह फाउन्डेसनको स्पोर्ट्स कमिटीले आयोजित प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कोर्स रेकर्डसहित उपाधि जिते । गोपीले आफ्नै नाममा रहेको ३१ मिनेट ४४.४९ सेकेन्डको कोर्स रेकर्ड सुधार गरेका हुन् । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाधि जितिन् । उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तिमान तोडेकी हुन् । एपिएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४.३ सेकेन्डमा दोश्रो तथा एपिएफकै विन्द्रा धन्के श्रेष्ठ ४० मिनेट २८.९५ सेकेन्डमा तेश्रो स्थानमा रहे ।

विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे । नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।पाँच किलोमिटरतर्फ पुरुषमा आर्मीका मुकेशबहादुर पाल र महिलामा एपीएफकी फूलमती रानाले पहिलो स्थान हासिल गरे । मुकेशले १४ मिनेट ३३.८८ सेकेन्डमा निर्धारित दूरी तय गरे । दोश्रो भएका एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्ड तथा तेश्रो स्थानका आर्मीका सुवास कार्कीले १५ मिनेट १४.०२ सेकेन्डमा दौड सिध्याए ।

फूलमतीले १७ मिनेट ४२.३१ सेकेन्ड खर्चिन् । आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्डमा दोश्रो तथा आमीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डमा तेश्रो बने । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरे ।पाँच किलोमिटरतर्फको रेस पहिलोपटक आयोजना गरिएको हो भने १० किलोमिटरतर्फ यो तेस्रो संस्करण हो । विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाको नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्