प्रदीप र सलोनीलाई उपाधि



काठमाडौं । 

प्रदीप खड्का र सलोनी तामाङले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला सिंगल्स फाइनलमा सलोनीले अभिलाषा विष्टलाई ६–०, २–६, ६–० को सेटमा हराइन् । यो प्रदीपको करियरको चौथो र सलोनीको पाँचौं सिंगल्स उपाधि हो ।

प्रदीप र सलोनीको जोडीले मिक्स डबल्समा पनि उपाधि जित्यो । सो स्पर्धामा पनि प्रणव र अभिलाषा उपविजेतामै सीमित भएका थिए । पुरुष र महिला सिंगल्सका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १०-१० हजार नगद पुरस्कार हात पारे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि जितेन्द्र परियारले कमल भण्डारीलाई ६–२ र ६–२ को सीधा सेटमा हराउँदै पहिलो स्थान हात पारे । ३५ वर्षमाथि पुरुष डबल्समा दावा शेर्पा र जितेन्द्र परियारको जोडी शीर्ष स्थानमा रहे । उक्त जोडीले फाइनलमा कमल भण्डारी र सुमित

मैनालीको जोडीलाई ६–२, ६–४ ले पन्छाए । ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडी विजेता बने । विजेता जोडीले फाइनलमा यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीलाई ४–६, ६–४,१०–७ ले निराश पारे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बाजी मारे । दीपकमान श्रेष्ठविरुद्धको फाइनलमा थापाले पहिलो सेट ४–० ले आफ्नो पक्षमा पारे । दोश्रो सेटमा ३–० ले पछि रहेको अवस्थामा श्रेष्ठ रिटायर्ड हर्ट भएपछि थापा विजेता भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले फाइनलमा निरञ्जनकुमार श्रेष्ठमाथि ६–२, ६–० को सहज जित हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्