च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित



लन्डन, (एजेन्सी)  ।

इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।युभेन्ट्स र बायर्न म्युनिखजस्तो बलियो टोलीलाई पन्छाएको भिल्ला रियलमाथि लिभरपुलले सहज जित निकालेको हो । लिभरपुलले स्पेनिस क्लब भिल्ला रियलमाथि २–० गोलअन्तरको सहज जित हात पारेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा साडियो मानेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको शुरुवातदेखि नै पाहुना टोलीलाई दवाबमा राखेको लिभरपुलले गोलको दोस्रो हाफमा आत्मघाती गोलको सहारा लिनुपरेको थियो । खेलको ५३औं मिनेटमा डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले शुरुआती अग्रता बनायो । कप्तान जोर्डन हेन्डरसनको क्रसलाई बचाउने क्रममा इस्टुपिनानले आफ्नै पोस्टतर्फ गरेको प्रहारलाई गोलरक्षक जेरोनिमो रुल्लीले बचाउने प्रयास गरे पनि सफल हुन सकेन ।

त्यसको दुई मिनेट पछि नै मोहम्मद सलाह र साडियो मानेको समन्वयमा मानेले गोल गर्दै लिभरपुलको अग्रत दोब्बर पारे । सलाहको थ्रू बललाई नियन्त्रणमा लिँदै मानेले गोल गर्न सफल भएका थिए । युभेन्ट्स र बायर्न म्युनिखजस्तो बलियो टोलीलाई प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलबाट पन्छाएको भिल्ला रियलले लिभरपुलविरुद्ध भने सोचेअनुरूपको खेल पस्कन नसक्दा पहिलो लेगमा हार व्यहोर्न पुग्यो ।
यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा यो सिजन चार उपाधि जित्ने आशा पनि जीवितै राखेको छ ।

लिभरपुलले लिग कपको उपाधि जित्दा च्याम्पियन्स लिगसँगै एफए कप र प्रिमियर लिगको उपाधि दौडमा रहेको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके लिभरपुल फाइनलमा पुग्नेछ । भिल्ला रियललाई भने फाइनल पुग्न घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा पनि ३–० गोलअन्तरको जितको खाँचो छ । यी दुई टोलीबीचको दोस्रो लेग आगामी मे ४ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्