विप्लव नेतृत्वको नेकपा विभाजनको सम्मुखमा



काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक गत चैतमा कपिलवस्तुको शिवगढीमा सम्पन्न भयो । उक्त बैठकले मुख्य गरि तीनवटा विषयको निर्णय गर्दै बैठक सम्पन्न भएको घोषणा गर्यो । जसअनुसार पहिलो महाधिवेशन आगामी मंसिर वा पुषमा गर्नेगरी पछि निर्णय गर्ने, दोस्रो एमसीसीविरुद्ध आन्दोलन गर्ने र तेस्रो स्थानीय तह निर्वाचनमा भाग नलिने ।

बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरे । उक्त प्रतिवेदनमा उनले निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । यद्यपि उनले पेश गरेको प्रस्तावप्रति केन्द्रीय समितिका अधिकांश सदस्यहरूले अन्य प्रस्तावमाथि सहमति जनाए पनि निर्वाचनप्रति असहमति जनाएका थिए ।

६९ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ४४ जना प्रस्तावको विपक्षमा उभिए भने २५ जना पक्षमा उभिएका थिए । विपक्षमा बहुमत केन्द्रीय सदस्यहरू उभिए पनि महासचिव कमरेडले संस्थागत रूपमा पार्टी निर्वाचनमा नगए पनि व्यक्तिगत रूपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरि प्रतिवेदन संशोधन गरेको आरोप नेता हेमन्तप्रकाश ओली ‘सुुदर्शन’ले उतिबेला नै लगाएका थिए । संशोधित प्रतिवेदनअनुसार नै वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेकपाका नेता–कार्यकर्ताहरूले धमाधम मनोनयन उम्मेदवारी दर्ता गराएको हुनसक्ने सुदर्शनले बताए ।

उनीहरू स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपले चुनावी प्रतिस्पर्धामा उत्रिएपछि शीर्ष नेताहरू दुईधारमा विभाजित छन् । महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड,’ र सन्तोष बुढा पक्ष अहिले पनि निर्वाचनको समर्थन जनाइरहेको छ भने निर्वाचन पूर्णरूपले बहिस्कार गर्नुपर्ने पक्षमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्ष थियो ।

सोही पक्षले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने र निर्वाचनमा भाग नलिने पार्टीको नीति भएको भन्दै उम्मेदवारी दिनु गतल भएकोले फिर्ता लिन विज्ञप्तिमार्फत भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारमा नउठ्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ ।’

यद्यपि धर्मेन्द्र बास्तोला कञ्चनको पक्षले विज्ञप्ति निकालेको पछिल्लो दिन महासचिव विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन् ।

‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो’, विप्लवले हिजो (बुधबार) जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधानअनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ विज्ञप्तिमा उल्लेख छ ।’

सुदर्शन र कञ्चन सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त भएपछि नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेका छन् । नेता सुदर्शनले न्युज अफ नेपालसँग संक्षिप्त कुरा गर्दै भने, ‘हामीलाई विप्लवजीले जसरी पदमुक्त गर्नु भएको छ, त्यसको कुनै तुक छैन । पार्टी निर्वाचनमा नजाने निर्णय कार्यान्वयनमा उहाँले हेलचक्र्याइँ गरेपछि हामीले विज्ञप्ति निकालेकै हो । विज्ञप्तिलाई लिएर उहाँले हामीलाई पदमुक्त गर्नुभयो । अब हामी नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेका छौँ । बहुमत सदस्य संख्या हाम्रो पक्षमा छ ।’

‘सुदर्शनजी र कञ्चनजीले पार्टीभित्र मच्चाएको वितण्डा र कञ्चनजीले वक्तव्य निकालेपछि लगत्तै हामीले छलफल गर्यौँ, सबैतिरबाट सुझाव संकलन गर्यौँ र गल्तीहरूको प्रकृति हेर्दा उहाँहरू हामीभन्दा निकै टाढा पुगिसकेकोले पार्टीले बाध्य भएर कारबाही गरेको हो,’ भन्छन् नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ।’

प्रतिक्रिया दिनुहोस्