महायज्ञबाटै ३ करोड ५२ लाख संकलन, महादेवको विशाल मूर्ति निर्माण



कास्की ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षक गन्तव्य पोखराको पुम्दीकोटमा १० दिने विशाल महायज्ञ सम्पन्न भएको छ । उक्त महायज्ञबाट तीन करोड ५२ लाख रुपियाँ संकलन भएको महायज्ञ आर्थिक उपसमितिका सह-संयोजक निर्मल बरालले जानकारी दिए ।

१० दिनसम्म सञ्चालन भएको महायज्ञबाट तीन करोड ५२ लाख रुपियाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सवअन्तर्गत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको सह-संयोजक बरालले बताए ।

महायज्ञको १०औं दिन हिजो (मंगलबार) मात्रै करिब १५ लाख १९ हजार रुपियाँ संकलन भएको हाे । महायज्ञमा पोखरा-१७ विरौटाका बिजय अधिकारी र तुलसी अधिकारीले १ लाख ८ हजार १ सय ८, पोखराका सनतकुमार श्रेष्ठले १ लाख १ हजार १ सय ११, पोखरा-२२ लप्सिवोटका सौरवी पौडेल (सुर्य)ले १ लाख १ सय ८, स्थानीय ढोरनाथ बरालले १ लाख रुपियाँ दाताहरूले सहयोग गरेको समितिले जनाएको छ ।

त्यसै कालावाङ घरेडी पोखरा तमु समाजले ५७ हजार ७ सय ५५, पोखरा-६ बैदाम निवासी डा.सुवास बराल र राजु बरालले ५५ हजार ५ सय ५५, पोखरा-८ सिमलचौरका कृष्ण भुजेल र किरण भुजेलले ५५ हजार ५ सय ५५, पोखरा-१७ निवासी दुर्गा पगेनीबाट ५१ हजार, अन्नपूर्ण-३ का कुशुम कुमार पौडेलले ५० हजार रुपियाँ महायज्ञको अन्तिम दिन सहयोग गरेके आर्थिक उपसमिति सदस्य भवनराज बरालले जानकारी दिए ।

महायज्ञको अन्तिम दिन समापन कार्यक्रममा बोल्दै समितिका अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण दाता, स्थानीय, समितिका पदाधिकारी, शुभेच्छुक तथा मित्रजन तथा विभिन्न आमा समूह, क्लवसहितका विभिन्न संघ-संस्थाहरूमा हार्दिक धन्यवादसहित शुभेच्छा प्रकट गरे ।

शान्ति, भयरहीत सौहार्दपूर्ण ढंगले महायज्ञ सम्पन्न भएसँगै अब विशाल महादेवको मूर्ति निर्माण अभियानलाई पुनः गति दिने बताए ।

महायज्ञका मुख्य वाचक भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका थिए । वैशाख ४ देखि १२ गतेसम्म संचालन हुने भनिएको महायज्ञ दाताहरूको मागअनुसार एक दिन थप गरी १० दिनसम्म संचालन गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्