चिएलिनीले संन्यास लिने



मिलान, (एजेन्सी) । 

इटालीका फुटबलर जर्जियो चिएलिनीले अन्तर्राष्ट्रिय करियर समाप्त गर्ने घोषणा गरेका छन् । आगामी जुनमा वेम्बली रंगशालामा अर्जेन्टिनाविरुद्ध खेलेपछि फुटबल करियरबाट संन्यास लिने चिएलीनीले बताएका हुन् । ३७वर्षीय डिफेन्डरले इटालीका लागि १ सय १६ खेल खेलेका छन् । गत वर्ष इंग्ल्यान्डमा सम्पन्न युरोपियन च्याम्पियनसिप जित्दा उनी टोलीका सदस्य थिए । चिएलिनीले मिडियालाई बताएअनुसार उनले जहाँबाट शुरु गरेको थियो त्यही अन्त्य गर्नेछन् ।

चिएलिनीले सन् २००४ मा लन्डनस्थित रंगशाला वेम्बलीबाटै अन्तर्राष्ट्रिय करियर शुरु गरेका थिए । जुनमा वेम्बलीमा हुने फाइनलिसीमा हुने खेलमा फिट रहेमा खेल्ने पनि उनले बताए । यो फाइनलिसीमा दक्षिण अमेरिकी विजेता र युरोपियन विजेता टोलीबीच खेल्ने खेल हो ।
चिएलीनी इटालीको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल्ने खेलाडीको सूचीमा पाँचौं स्थानमा रहेका छन् । यो स्थानमा एन्ड्रिया पिर्लो पनि रहेका छन् । उनीहरूभन्दा माथि डेनिएल डी रोसी, पाओलो माल्दिनी, फाबिओ कानाभारो र जियानलुइगी बुफोन रहेका छन् ।

आगामी कतारमा हुने फिफा विश्वकपमा भने इटालीले खेल्न पाउनेछैन । इटाली विश्वकपमा छनोट हुन असफल भएकाले पनि उनी दुःखी भएको चिएलिनीले बताए । उनले क्लब करियरको पनि अन्त्य गर्ने सोचमा रहेको बताएका छन् । तर, उनले यसका लागि तयार नभएको र निर्णय छिटै लिन पनि नसकिने बताए ।

इटाली सिरी ‘ए’ लिगमा युभेन्टसबाट खेलिरहेका उनले बताए–मेरो प्रेम युभेन्टससँग छ । मैले युभेन्टसबाट अन्त्य गर्ने पनि सोचिरहेको छैन । सायद, नहुन पनि सक्छ । वास्तवमा मैले सिजनको अन्त्यमा हरेक कुराको मूल्यांकन गर्नेछु, मेरा परिवारसँग पनि छलफल गर्नेछु के गरे राम्रो हुन्छ भनेर ।

 

प्रतिक्रिया दिनुहोस्