युभेन्ट्सको पुनरागमन जित



लन्डन, (एजेन्सी) । 

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पुनरागमन जित निकालेको छ । पाउलो डिबाला र मोइस किनको गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पुनरागमन जित निकालेको हो । युभेन्ट्सले घरेलु टोली सस्सुलोलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

मापेइ स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा जियाकोमो रास्पाडोरीको गोलबाट घरेलु टोलीले शुरुवाती अग्रता लिन सफल भएको थियो । उनले डोमिनिको बेरारडीको पासमा गोल गर्न सफल भएका थिए ।पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने संकेत दिए । उनले डेनिस जाकारियाको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी मोइस किनले गोल गर्दै युभेन्ट्सलाई पुनरागमन जित दिलाए । उनले एलेक्स सान्द्रोको पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै युभेन्ट्सले शीर्ष चारमा रहने सम्भावना जीवितै राखेको छ । जितपछि युभेन्ट्सको ३४ खेलबाट ६६ अंक रहेको छ । पराजित सस्सुलो ४६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्