रुडिगर रियल जाने



लन्डन, (एजेन्सी) । 

इंग्लिस क्लब चेल्सीका जर्मन डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल मेड्रिडजाने भएका छन् ।
सिजनको अन्त्यसँगै चेल्सीसँग सम्झौता समाप्त भएपछि उनी रियल जाने भएका हुन् । २९ वर्षीय डिफेन्डरले यसअघि राख्दै आएको १२ मिलियन युरो प्रतिसिजनको मागमा लचकता अपनाएसँगै रियलले सम्झौता गर्न राजी भएको हो । रियलसँगै युरोपका शीर्ष क्लबले पनि रुडिगरलाई नजरमा राख्दै आएका थिए । चेल्सीले सम्झौता नवीकरण गर्ने अवस्था नभएपछि रुडिगरमाथि धेरैको चासो रहेको थियो । फ्री एजेन्ट भएकाले रुडिगर फ्रि ट्रान्सफरमा रियल जानेछन् ।

रियल र रुडिगरबीच प्रारम्भिक सहमति भइसकेको छ । इटालियन सञ्चारकर्मी फाब्रिजियो रोमानोका अनुसार यसै सातादुई पक्षबीच लिखित सहमति हुने सम्भावना छ । फिफाले सम्झौताको अन्तिम ६ महिना बाँकी रहँदा अन्य क्लबसँग सम्झौता गर्न पाउने नियम राखेको छ । यसअघि, रियलले बायर्न म्युनिखबाट डेबिड अलाबालाई पनि फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।

इटालियन प्रशिक्षककार्लो एन्चेलोटिले टोलीको डिफेन्स बलियो पार्न लामो समयदेखि उनलाई नजरमा राखेका थिए । रियलमा अलाबासँगै एडर मिलिसाओ, नाचो फर्नान्डेज र जेसस भालेहो टोलीमा रहेका छन् । च्याम्पियन्स लिगमा रुडिगरको उत्कृष्ट प्रदर्शनले पनि रियलले उनलाई अनुबन्ध गर्न रुचि देखाएको हो । चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि रुडिगरले क्लब छाड्ने पक्का भएको बताए ।

प्रतिक्रिया दिनुहोस्