बार्सिलोना घरेलु मैदानमा स्तब्ध



लन्डन, (एजेन्सी) । 

क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा स्तब्ध नतिजा सामना गर्नुपरेको छ ।स्पेनिस ला लिगामा बार्सिलोना आफ्नै घरेलु मैदानमा रायो भालेकानोसँग १–० गोलअन्तरले स्तब्ध बन्यो ।

नोउ क्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले पहिलो हाफमा गरेको गोल नै पर्याप्त भयो । उनले सातौँ मिनेटमा इसीपाला जोनको पासमा गोल गर्न सफल भएका थिए ।

सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले त्यसपछि बलमा बलियो पकड राख्दै पाहुना टोलीलाई लगातार दबाबमा राखे पनि रायो भालेकानोको रक्षापङ्क्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । बार्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ । यसअघि, युरोपा लिगमा आइनट्राख्ट फ्रान्कफर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि क्याडिजसँग १–० ले स्तब्ध बनेको थियो ।

यो हारले बार्सिलोनाको ला लिगा उपाधि यात्रामा धक्का लागेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको रियल भन्दा १५ अंकले पछि छ । रियलको ७८ तथा बार्सिलोनाको ६३ अंक छ ।अब रियललाई च्याम्पियन बन्न स्पान्योलसँगको बराबरीको नतिजा नै पर्याप्त हुनेछ । बार्सिलोनालाई हराएको रायो भालेकानोको ४० अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्