रसियनका खेलाडी विम्बल्डनमा खेल्नबाट वंचित



लन्डन  । 

विम्बल्डनमा रसिया र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । यूक्रेनमाथि रसियाको हमलाको घटनालाई लिएर लन्डनस्थित विम्बल्डनमा हुने टेनिस प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीलाई खेल्न अनुमति नदिने भएको हो । हाल पुरुषतर्फका विश्व नम्बर दुई डेनील मेदभेदेभ रसियन खेलाडी हुन् ।

यस्तै महिलातर्फकी विश्व नम्बर चार एरिना सबालेन्का बेलारुसकी खेलाडी हुन् । यी शीर्ष वरियताका खेलाडीको लागि रुसले यूक्रेनमाथि हमला गर्नुको कारण असर परेको छ ।अल इंग्ल्यान्ड लन टेनिस क्लबले आगामी जुन २७ देखि १० जुलाईसम्म विम्बल्डन टेनिस प्रतियोगिता आयोजना गर्दैछ ।

यो प्रतियोगिता टेनिसतर्फ वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिताको रुपमा हरेक वर्ष आयोजना हुँदै आएको छ । क्लबले रसियन र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गराउन नपाउँदा गहिलो दुःख लागेको पनि वक्तव्यमा उल्लेख गरेको छ । लन टेनिस संघले रसिया र बेलारुसका खेलाडीलाई लन्डनको ग्रास कोर्ट प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाएको छ ।

सबालेन्का गत वर्षको विम्बल्डन प्रतियोगिताको सेमिफाइनलमा पुगेकी थिइन् । यस्तै रसियाकी एनाटासिया पाभ्ल्युचेन्कोभा र बेलारुसकी भिक्टोरिया अजारेन्काले पनि यस वर्षको विम्बल्डनमा खेल्न पाउने छैनन् । दुबै खेलाडी विश्वका उत्कृष्ट खेलाडीमध्ये हुन् । तर, उनीहरुले हरेक वर्षमा हुने दोस्रो ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनमा भने खेल्न पाउनेछन् । मे मा शुरु हुने उक्त प्रतियोगितामा उनीहरुले आफ्नो राष्ट्रको झण्डा भने फर्फराउन पाउनेछैनन् ।

यसअघि रसियालाई डेभिस कप उपाधि रक्षा गर्नबाट वंचित गराइसकेको छ । यस्तै बिल जिन किंग कपमा पनि रसियाको टिमलाई प्रतिबन्ध लगाइसकेको छ । महिला टेनिस संघ (डब्ल्यूटीए) र पुरुषको संघ (एटीपी) ले संयुक्तरुपमा आगामी अक्टोबरमा रसियाका राजधानी मास्कोमा हुने प्रतियोगिता पनि स्थगित गरेका छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघले पनि रसिया र बेलारुसमा हुने प्रतियोगिताहरु रद्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्