राखेप कर्मचारी पार्टी कार्यालयतिर



पोखरा  । 

कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा निजामती कर्मचारी राखिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब सुब्बालाई कास्की जिल्ला खेलकुद विकास समतिको कार्यालय प्रमुख बनाएको छ । तर, विगत तीन महिनादेखि कार्यालय प्रमुख कार्यालय आउन छाडेर पार्टी कार्यालय सम्हाल्न पुगेका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नायब सुब्बा प्रकाश बराललाई यतिबेला नेपाली कांग्रेसको पार्टी कार्यालय सम्हाल्न भ्याइ नभ्याइ भएको छ । उनले आफ्नो काम काज पूरै छाडेर कांग्रेसको प्रदेश कार्यालयको मुख्य सचिव भएर काम गर्न थालेका छन् । पार्टीमा नियुक्ति पाएसँगै उनी खेलकुद कार्यालय जान छाडेका छन् ।

चैत महिनामा राजनीतिक नियुक्ति पाएर जिल्ला खेलकुद विकास कार्यसमिति पाएका सबै पदाधिकारीहरूलाई कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पदबाट हटाएको थियो । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएको समयमा नियुक्त भएका उनीहरूको काम चित्तबुझ्दो नभएको भन्दै गण्डकी प्रदेश खेलकुद मन्त्रालयले चैत ५ गते स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई बर्खास्त गरिएको हो ।

तर, कांग्रेसले आफ्नै कार्यकर्ता निजामति कर्मचारी भएर पार्टीको मुख्य सचिव हुँदासमेत केही गरेको छैन । अन्य पार्टीका सबैलाई पाखा लगाउने तर आफ्ना पार्टीकालाई भने जस्तोसुकै भए पनि संरक्षण गरेर राखेको देखिएको छ ।निजामती सेवा ऐन २०७६ मा स्पष्टरूपमा भनिएको छ की ‘निजामती कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिनु हुँदैन ।’ त्यति मात्र होइन् ऐनले नै यस्तै निजामती कर्मचारीले अख्तियारवालाको पूर्व स्वीकृति नलिई अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन । भनी उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले कर्मचारीले राजीनामा नबुझाई अन्यत्र काम गर्नु गलत रहेको बताए । उनले यस विषयमा आफु अनविज्ञ रहेको र तत्कालै बुझेर अघि बढ्ने बताए । उनले कास्कीको जिल्ला खेलकुदमा सुब्बा तहका कर्मचारी राखेको जानकारी दिए ।

कार्यालय प्रमुख नै कार्यालय आउन छाड्दा सेवाग्राही त्यसै फर्किन बाध्य भएको एक खेलकर्मीले बताए । उनले प्रमुखलाई भेट्न अब रंगशाला नभई नेपाली कांग्रेसको पार्टी कार्यालयमा जानुपर्ने बाध्यता रहेको सुनाए ।उता कांग्रेसको प्रदेशको सचिव भएका प्रकाश बरालले बिदा मिलाएर रंगशाला जाने बताए । ‘अब विदा मिलाएर जान पर्ला नि’ उनलाई राजिनामा दिनुपर्ने किन नदिएको भन्ने प्रश्नमा उनले भने,‘अब पार्टीले टिकट दियो भने राजनिामा दिन पर्ला नी !’ बरालले तत्कालै नदिने बताए । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रूपमा चुनिएका बराल गत पुस ९ गते कार्यालय मुख्य सचिवमा नियुक्त भएका हुन् ।

एक खेल पदाधिकारीका अनुसार जिल्लाको सबै काम गर्ने अधिकार नै कार्यालय प्रमुखको रहेको बताए । उनले प्रमुखविहीन हुँदा जिल्लाबाट हुनुपर्ने कुनै पनि काम नभएको बताए । ‘जिल्लाको सबै काम हाक्ने उनले (प्रकाश बरालले) नै हो, सबैको उसैको हुन्छ । सबै चल्ने नै उनको हो । नियममा पहिला पनि पाउने थिएनन् तर, मिलाएर खाएका हुन् । बराललाई हटाउन प्रदेश सरकारले नसक्ने पदाधिकारीले बताए । राखेपबाट नै आएको हुँदा यसका लागि राखेपले नै कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

बराल यसअघि पनि निरन्तर रूपमा कांग्रेसको सक्रिय कार्यकर्ता हुन् । खेलकुदमा संघीता नआउँदा कर्मचारी समायोजनामा समेत निकै समस्या आइरहेको छ । आगामी जेठमा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समेत तयारी हुँदै गर्दा जिल्ला कार्यालय प्रमुखविहीन भएपछि काम कस्ले गर्ने भन्ने अन्योलता समेत बढेको छ । एक महिनाको मात्रै समय हुँदा कार्यालयमा प्रमुख नहुँदा थप समस्या खडा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्