पाँच दलीय गठबन्धनलाई ‘पानी मुनी गए पनि’ छोड्दैनौं : ओली



लमजुङ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पानी मुनी’ गए पनि नछोड्ने बताउनु भएको छ । लमजुङको बेसीशहरमा आयोजित नेकपा एमालेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले वैशाख ३० मा हुने स्थानीय तह चुनावमा पाँच दलीय गठबन्धनलाई परास्त गरेर छाड्ने दाबी गर्नुभएको हो । आफूले भारतसँग आँखा जुधाएर सीमा र अन्य विषयमा कुरा उठाए पनि वर्तमान प्रधानमन्त्रीले चुक्कसमेत गर्न नसकेको भन्दै भारत र चीनसँग बाटो खोल्न, गुमेको भूमि फिर्ता गर्न एमाले नेतृत्वको सरकार आउनुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले नेकपा एमाले नफुटेको तर चोइटिएको उल्लेख गर्नुभएको । केही व्यक्ति पार्टीबाट बाहिरिँदा शरीरको काँडो निकालेजस्तै भएको भन्दै अब एमाले झनै सशक्त र बलियो भएको अध्यक्ष ओलीको दाबी थियो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, केन्द्रीय सदस्य टुकाभद्र हमाल, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटी सचिव सुवास पौडेलले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्