नेयमार र एमबाप्पेको ह्याट्रिक



पेरिस ।

फरवार्डद्वय नेयमार जुनियर र क्लियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ ।

पीएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ गोलअन्तरको फराकिलो जित दर्ता गरेको हो । क्लेरमोन्टमा शनिबार राति भएको खेलमा घरेलु टोलीका जोडेल डोस्सोउले एक गोल फर्काए । गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले शुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेसीको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको १९औं मिनेटमा एमबाप्पेले मेसीकै पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । तर, ४२औं मिनेटमा जोडेलले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ स्थितिमा ल्याएका थिए ।दोस्रो हाफमा पीएसजीले चार गोल थप्दै फराकिलो जित पक्का ग¥यो । खेलको ७१औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए ।

खेलको ७४औं मिनेटमा एमबाप्पेले नेयमारको पासमा गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८०औं मिनेटमा एमबाप्पेले मेस्सीको पासमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा पीएसजी खेलमा ५–१ ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नेयमारले एमबाप्पेकै पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि पीएसजीले फराकिलो जित निकाल्न सफल भयो । यो जितसँगै पीएसजीको ३१ खेलबाट७१ अंक पुगेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्