पाकिस्तानले आज नयाँ प्रधानमन्त्री पाउँदै



काठमाडौं । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएपछि आज नयाँ प्रधानमन्त्रीको चयन गर्न संसद् अधिवेशन बस्दै छ ।

यसका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नजाफ (पीएसएम–एन) का अध्यक्ष सहबाज सरिफ र प्रधानमन्त्री खानको तहरिक ए इन्साफ (पीटीआई) का उपाध्यक्ष शाह मोहम्मद कुरैसीले मनोनयत दर्ता गराइसकेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यी दुईमध्ये पूर्वप्रधानमन्त्री सरिफका भाइ सरिफ नै नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भइसकेको जनाएका छन् ।पाकिस्तानी संसद्मा कायम ३ सय ४२ सिटमध्ये सरकार गठन गर्न १ सय ७२ सिट आवश्यक छ । अब बन्ने नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्नेछ ।

पाकिस्तानको संसद्ले शनिबार राति प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेपछि आइतबारदेखि उहाँ पदमुक्त हुनुभएको हो । अविश्वासको मतदानमा पक्षमा १ सय ७४ मत परेको थियो । प्रधानमन्त्री खान अविश्वासका प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बन्नुभएको छ ।

यसअघि आफूविरुद्धको अविश्वासको प्रस्ताव रोक्न प्रधानमन्त्री खानले संसद् भंग गराउनुभएको थियो । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि शनिबार मध्यरातमा अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो ।

पदच्युत भएपछि प्रधानमन्त्री खानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा अभियान चलेको आरोप लगाउँदै विपक्षी नेतृत्वको सरकारलाई आफूले मान्यता नदिने बताउनुभएको छ ।यसैबीच सरिफको मनोनयनपत्रबारे आपत्ति जनाउँदै खानको पार्टी पीटीआईका सबै सांसदले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्