प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका प्रजातन्त्रका सेनानीहरूलाई सम्मान 

प्रजातन्त्र सेनानीहरूको जीवन कथामा आधारित वृत्तचित्र प्रदर्शन



कास्की । 

नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय रहेका केही प्रजातन्त्र सेनानीहरूको जीवन कथामा आधारित वृत्तचित्र प्रदर्शन गर्नुका साथै प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका प्रजातन्त्रका सेनानीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

शनिवार पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित एक भव्य समारोहका बिच प्रजातन्त्रका सेनानीहरुको भिडियो प्रदर्शन गर्नुका साथै प्रजातन्त्रका सेनानीहरूलाई मरणोपरान्त एवं जीवित अवस्थामा नै सम्मान गरिएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका सहित अन्य चार वटा गाउँपालिकामा रहेर प्रजातन्त्र का लागि लामो समय निरन्तर सक्रिय योद्दाहरुलाई मरणोपरान्त एवं जिवित अवस्थामा सम्मान गर्ने क्रममा झण्डै १सय २५ जनालाई सम्मान गरिएको थियो।

नेपाली कांग्रेस कास्कीको समन्वयमा तयार गरिएको वृत्तचित्रमा विशेष गरी लिलाभक्त आचार्य. दिपक जोशी, खरिलाल विश्वकर्मा, कृष्ण बहादुर कुंवर, हिरामणी सुवेदी, भोजराज भण्डारी लगायतका प्रजातन्त्रका सेनानीहरुको स्मरण समेटिएको छ ।

वृत्तचित्र मार्फत वहाँहरूले नेपाली कांग्रेसमा रहेर प्रजातन्त्र प्राप्तिको लागि आफूले गरेको सङ्घर्ष सहित समकालीन साथीहरूसँगै गरिएको आन्दोलनका बारेमा स्मरण गर्नुभएको छ । यसका साथै कांग्रेस नेता विश्वेश्वर प्रसाद कोइराला सहित सुवर्ण समसेर राणा, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगायतका पार्टी नेताहरूको सान्निध्यमा रहेर कांग्रेसको संगठन बिस्तार अनि कांग्रेसले आव्हान गरिएका आन्दोलनको बारेमा वहाँहरूले आफ्नो स्मरण वृत्तचित्र मार्फत सुनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्