कांग्रेसले चुनाव प्रचारप्रसारमा सञ्चार संयन्त्र क्रियाशील गर्ने



काठमाडौं (नेस) ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले सञ्चार संयन्त्र परिचालन गरी प्रचार–प्रसारलाई प्रभावकारी बनाउने भएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले वडा तहसम्म सञ्चार संयन्त्र तयार गरी प्रचारप्रसारलाई तीव्रता दिने निर्णय गरेको छ ।

केन्द्रीय प्रचार–प्रसार समितिले तत्काल केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने, प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने, स्थानीय तहका समाचार, जानकारी एवं निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने निर्णय गरी तल्लो तहसम्म निर्देशन जारी गरिसकेको छ ।

केन्द्रीय समितिका संयोजक डा. महतले जानकारी दिएअनुसार पार्टीको प्रचारप्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र विभिन्न सञ्चार माध्यमहरू रेडियो, एफ.एम. रेडियो, टेलिभिजन, अखबार, अनलाइन तथा समाजिक सञ्जाल लगायतबाट पार्टीको सन्देश सम्प्रेषण गरिने भएको छ ।

उक्त कार्यका लागी पार्टी सम्वद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ वुद्धिजीवीहरू, सञ्चारकर्मी र अन्य पेसागत संस्था र साथीहरूलाई परिचालन गर्ने निर्णय भएको छ । सञ्चार विज्ञ, भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका युवापंक्तिलाई प्रचारमा परिचालित गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्