निर्माण क्षेत्र मुलुकको मेरुदण्ड : पूर्वमन्त्री केसी



काठमाडौं ।

हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले नेपाल निर्माण व्यवसायी महासंघको १२औं अधिवेशनबाट निर्वाचित नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

हजुरलाई नमस्ते ट्रेड लिंकले ठूला व्यापारिक घरानालाई चुनौती दिँदै साना उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न सो बधाई तथा शुभकामना कार्यक्रम गरेको प्रस्ट पारेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले निर्माण व्यवसायीहरू भनेका राष्ट्रका लागि कोसेढुंगा भएको बताउनुभएको छ । उहाँले हजुरलाई नमस्ते ट्रेड लिंकद्वारा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको १२औं अधिवेशनबाट निर्वाचित नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उक्त धारणा राख्नुभएको हो ।

उहाँले दुई वर्षे कोभिडले थला परेको निर्माण कार्य भर्खरै मात्र जुर्मुराउन थालेको उल्लेख गर्दै निर्माण क्षेत्र मुलुकको मेरुदण्ड भएको बताउनुभयो । आफू सार्वजनिक लेखा समितिको सदस्य भएकाले पनि निर्माण व्यवसायीहरूको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । सानासाना क्लस्टर बनाएर स्वदेशी निर्माण कम्पनीलाई निर्माण जिम्मा दिनुपर्नेमा उहाँको जोड थियो । उहाँले व्यवसायीहरूको व्यवसाय पनि चलोस् र निर्माण कार्य पनि सम्पन्न हुन् भन्दै निर्माण व्यवसायीहरूले पनि आफ्नो दक्षता विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले हजुरलाई नमस्ते ट्रड लिंक प्रेरणादायी अभियान भएकाले सरकारले निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले सरकारको श्रम सहकारी कार्यक्रमको आलोचना गर्दै राज्यले कसैप्रति विभेदपूर्ण व्यवहार गर्नु नहुने धारणा राख्नुभयो । अध्यक्ष सिंहले विकास बजेटमा उपभोक्ता समितिको नाममा ब्रह्मलुट भएको आरोप लगाउनुभयो । साना निर्माणका लागि काममा ८० प्रतिशत अनुभव भएको प्रमाणपत्र चाहिने कुरा सहमतिबेगर भएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायमा भएको अप्रत्याशित मूल्यवृद्धिलाई नरोक्ने हो भने आफूहरू काम गर्न असमर्थ हुनेमा उहाँको जोड थियो । व्यापार व्यवसायमा अन्यभन्दा एक पाइला अघि बढाउने व्यक्ति ताराबहादुर कुँवर हुन् भन्दै संघर्ष गरे सफल भइन्छ भन्ने उदाहरण रहेको बताउनुभयो ।

नवनिर्वाचित महासचिव रोशन दाहालले पनि निर्माण व्यवसायीहरूका समस्याका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । उहाँले सरकारसँग छलफलमा रहेकाले सार्वजनिक खरिद नियमावलीप्रति टिप्पणी गर्दै आफू खुसी र दुःखी दुवै भएको बताउनुभयो । १४ हजार साना निर्माण व्यवसायी मारमा परेको भन्दै सरकार उद्योगी मैत्री नभएको आरोप लगाउनुभयो ।

कार्यक्रमको सभापतित्व हजुरलाई नमस्ते ट्रेड लिंकका तर्फबाट व्यवसायी ताराबहादुर कुँवरले गर्नुभएको थियो । कार्यक्रमको बारेमा जानकारी दिँदै कुँवरले अरूको भन्दा सस्तो, गुणस्तरीय सामान बिक्री गरेको भन्दै आफ्नो प्रचारप्रसार पनि गर्न भ्याउनुभएको थियो । उहाँले स्वदेशी साना निर्माण व्यसायलाई प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन शेरबहादुर कुँवरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्