पत्रकारलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की



कालीकोट ।

रास्कोट नगरपालिका–५ निवासी रेडियो प्रदेश आवाज एफएमका अध्यक्ष एवं पत्रकार ३५ वर्षीय रत्नबहादुर कार्कीलाई ज्यान मार्ने धम्की आएको छ । समाचारको विषय लिएर खाडाचक्र नगरपालिका–१ बस्ने माओवादी केन्द्र कर्णाली प्रदेशका सचिव ५३ वर्षीय धनजित शाहीले शनिबार टेलिफोनमार्फत धम्की दिएका हुन् ।

माओवादी केन्द्र कर्णाली प्रदशका सचिव शाहीले पार्टीविरुद्ध रेडियोमा समाचार प्रसारण तथा सामाजिक सञ्जालमा लेखेको भन्दै फोनमार्फत मार्ने तथा रेडियो तोडफोड गर्ने धम्की आएको पत्रकार कार्कीले बताउनुभयो । मार्ने तथा सञ्चार माध्यम तोडफोड गर्ने धम्की दिएको भनी पीडित कार्कीले आरोपितका विरूद्ध समोबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा उजुरी दिनुभएको छ ।

घटनाको नेपाल पत्रकार महासंघ कालिकोटले प्रेस विज्ञप्ति जारी गरेर निन्दा गरेको छ । महासंघ कालिकोटका कार्यवाहक अध्यक्ष नमराज योगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचार तथा सामाजिक सञ्जालमा आएका विषयमा चित्त नबुझे कानुनी बाटो अपनाउनुपर्नेमा रेडियो तोडफोड गरेर खोलामा फाल्ने, सञ्चालकलाई मार्ने धम्की पार्टीको जिम्मेवार व्यक्तिबाट आउनु निन्दनीय भएको बताइएको छ ।

साथै रेडियोकर्मी स्वतन्त्र सञ्चारमाध्यममाथि आक्रमण तथा सञ्चालकलाई मार्ने धम्की दिने माओवादी केन्द्रका सचिव शाहीलाई कानुनी कारबाही गर्नुका साथै पत्रकार कार्की र रेडियोको सुरक्षाका लागि स्थानीय प्रहरी प्रशासनसँग विज्ञप्तिमार्फत माग गरिएको छ । त्यस्तै, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिनु गलत भएको बताउँदै पीडितको उजुरीका आधारमा घटनामाथि अनुसन्धान गर्ने नेपाल समाचारपत्रलाई बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्