नौ विद्यालय तीनतारे घोषित



बैतडी ।

खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी सूचकअनुसार बैतडीका ९ वटा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सम्बन्धित पालिकाले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेको हो ।

जिल्लाको शिवनाथ गाउँपालिकाका ४ र पञ्चेश्वर गाउँपालिकाका ५ वटा विद्यालयलाई तीनतारे घोषणा गरिएका हुन् । विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गरी विद्यालयलाई तीनतारे घोषणा गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताउनुभयो ।

खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेका विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो । ‘खानेपानी, शौचालय, सफा र स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद जोखिम व्यवस्थापनलगायतका सूचक पूरा गरेका विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ ।’

तीनतारे विद्यालय घोषणा हुनेमा पञ्चेश्वर गाउँपालिकाका प्रगति आधारभूत विद्यालय, देवथला माध्यमिक विद्यालय, नागार्चन आधारभूत विद्यालय, कुलाउ माध्यमिक विद्यालय र सोमेश्वर माध्यमिक विद्यालय रहेका छन् । यस्तै, शिवनाथ गाउँपालिकाका जिम्मेश्वर आधारभूत विद्यालय, खम्पाल आधारभूत विद्यालय, कैलपाल आधारभूत विद्यालय र शिवपूर्ण आधारभूत विद्यालय रहेको छ । तीनतारे घोषणा भएका विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचक पूरा भएका शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिनुभयो ।

तीनतारे सुनिश्चिता घोषणाका लागि विद्यालय स्वच्छ पिउने पानीसहित पर्याप्त पानीको व्यवस्था, विद्यार्थी संख्याअनुसार सफा, सुरक्षित स्थानमा बालबालिका लैँगिक अपांगता, वातावरणमैत्री शौचालय, वातावरणीय सरसफाइ हरियाली वातावरण र स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थ सहितको भान्सा घर, विपद जोखिम व्यवस्थापन, प्रवद्र्धन र दिगोपनका लागि संस्थागत व्यवस्थालगायतका विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्डहरु पूरा गरेको हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्