वडाअध्यक्ष लामाको निधन



सिन्धुली (नेस) ।

सिन्धुलीको मरिण गाउँपालिका –६ कपिलाकोटका वडाअध्यक्ष कुरसाङ लामाको निधन भएको छ । सोमबार दिउँसो वडा कार्यालयमै बसीरहेका बेला एक्कासी उच्च रक्तचाप (ब्लाड प्रेसर) का कारण हर्टअट्याक भएर वडाअध्यक्ष लामाको ४३ वर्षको उमेरमा निधन भएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

वडाअध्यक्ष लामा वडा कार्यालयको आफ्नै कुर्सीमा बसी रहेको अवस्थामा अचानक हर्टअट्याक भएर निधन भएको गाउँपालिका अध्यक्ष बम्जनले बताउनुभयो । दिउँसो वडा कार्यालयमा भएको बैठक सकिएपछि होटलमा खाजा खाई पुनः फर्केर वडा कार्यालयमा गएर बसेको केही समयपछि वडाअध्यक्ष लामो निधन भएको मरिण गाउँपालिका –६ का वडा सदस्य हर्कबीर माझीले जानकारी दिनुभयो । वडाअध्यक्ष लामा आफ्नै टेबलमा लडेपछि उठाएर वडा कार्यालय नजिकै रहेको कपिलाकोट प्राथमिक स्वास्थ्य चौकीमा पुर्याउनु अघि नै निधन भएको वडा सदस्य माझीले बताउनुभयो ।

मरिण गाउँपालिका –६ बाँझडाँडा घर भएका वडा अध्यक्ष लामा वि.सं. २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित हुनुभएको थियो । लामाका एक श्रीमती र पाँच जना छोराहरू रहेका छन् । वडा अध्यक्ष लामाको निधनप्रति गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्