बाँकेमा प्रजिअको नयाँ अभियान : राम्रो काम गर्ने कर्मचारीलाई नगद पुरस्कार



बाँके ।

बाँकेमा प्रमुख जिल्ला अधिकारी भएर आएपछि सूर्यबहादुर खत्रीले दुई वटा घोषणा गर्नुभयो, कुनै कार्यालयमा समयमा काम भएन भने मलाई फोन गर्नुस् । अर्को, उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने ।

कार्यालयमा कुनै कर्मचारीका कारण ढिलासुस्ती काम भएमा मलाई फोन गर्नुस् भनेर प्रमुख जिल्ला अधिकारी खत्रीले आफ्नो फोन नम्बर नै सबै कार्यालयमा टाँसिदिनुभयो । कतिपयले प्रमुख जिल्ला अधिकारी खत्रीलाई फोन गरेका छन् । त्यस्तो फोन आएपछि प्रमुख जिल्ला अधिकारी खत्रीले त्यस कार्यालयका प्रमुखलाई फोन गरेर भन्नुहुन्छ, ‘फलानो मान्छे (नाम दिएर) ले यति नम्बर (फोन नम्बर दिएर) बाट मलाई फोन गरिरहेको छ । तपाईंको कार्यालयमा काम भएन भनेको छ । तत्काल बुझ्नुस् ।’ यसो गर्दा कार्यालय प्रमुख र कर्मचारीहरूलाई काम ढिला हुँदा प्रमुख जिल्ला अधिकारीकहाँ फोन जान्छ भन्ने परिरहेको छ । अर्को उत्कृष्ट काम गर्नेलाई पुरस्कार ।

हरेक महिनामा हुने कार्यालय प्रमुखको बैठकमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीको घोषणाले कर्मचारीहरूमा राम्रो गर्ने होड चलेको छ । फागुन महिनाको उत्कृष्ट कर्मचारी भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय, नेपालगन्जका प्रमुख मनोज खतिवडा हुनुभएको छ । आइतबार बसेको कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी खत्रीले खतिवडालाई पाँच हजार नगद र सम्मानपत्रले पुरस्कृत गर्नुभयो । भूमिगत जलस्रोतको वित्तिय प्रगति ९७ प्रतिशत रहेकाले कार्यालय प्रमुख पुरस्कृत भएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खत्रीले खतिवडालाई फागुन महिनाको उत्कृष्ट कर्मचारी घोषणा गरिए पनि साउनदेखिकै काम हेरिएको बताउनुभयो । उहाँले केही मापदण्ड बनाएर उत्कृष्ट कर्मचारी छनौट गर्ने गर्नुभएको छ । त्यसका लागि मूल्यांकन समिति बनाइएको छ । हरेक महिनाको अभिलेख हेर्ने र कार्यसम्पादनको मूल्यांकन गरेर उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ ।

बाँकेमा १ सय ११ वटा कार्यालय छन् । त्यसमा २५ बढी विकास समितिका कार्यालय छन् । अधिकांश कार्यालयले विकास रकम खर्च गर्न सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी खत्रीले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न र उसको आत्मसम्मान बढाउन सम्मान गर्ने अभियान चलाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्