पुल नभएपछि नदीपारिका बालबालिकाको पठनपाठन प्रभावित
नवलपरासी
ठेक्का लागेको १० वर्ष सम्म पक्की पुल अलपत्र भइरहँदा विकल्प बनेको झाेलुङ्गे पुल पनि बाढीले बगाएपछि कालीगण्डकी किनारका स्थानीयलाई ठूलाे सकस परेकाे छ ।
गत आश्विन १० गते कालीगण्डकीकाे बाढीले नवलपरासी पूर्वकाे बुलिङ्ग ४ काेखे र तनहुँ रिसिङ्ग गाउँपालिका ५ मधुवन जोड्ने झाेलुङ्गे पुल बगाई दिँदा स्थानीयलाई नदी वार पार गर्न सकस परेकाे हाे ।
पुल बगेकै कारण नदी पारीकाे मधुवनबाट काेखे स्थित रम्भादेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८ छात्र छात्रालाई दैनिक विद्यालय आउजाउ गर्न समस्या भएको प्रधानाध्यापक सूर्य प्रसाद कंडेलले बताए ।
प्रधानाध्यापक कंडेलका अनुसार कक्षा १ देखि ५ सम्मका २ छात्र सहित ८ विद्यार्थी नदीकाे पुल बाढीले बगाएसंगै विद्यालय आउन समस्या भए पछि केहीले काेखे क्षेत्रमै भाडामा कोठा लिएर बसेका र केहीलाई नदी पारीकै अर्को विद्यालयमा समन्वय गरी पठनपाठनमा सहजीकरण गरिएको छ ।
स्थानीय मधुवन र फूलमादी छेउकाे काेखेटार जोड्ने कालीगण्डकीकाे गडगडीघाट कास्कीकाे पाेखरा,तनहूँकाे भिमाद,रिसिङ रानीपाेखरी हुँदै नवलपुरकाे धाैवादी,कावासाेती देखि त्रिवेणी जोड्ने ऐतिहासिक मार्ग पनि हाे ।
यही प्राचीन नदीघाटलाई लक्षित गर्दै केही दशक अघि गडगडीमा बनेको झाेलुङ्गे पुल कालीगण्डकीकाे तिव्र बाढीले लछार्दा तहसनहस भएको छ भने नजिकैको निर्माणाधीन पक्की पुल वर्षाैं देखि निर्माण कम्पनीको लापरबाहीले अलपत्र रहेको छ ।
नदीमा पक्की पुल बने पछि गाडी चढेर सरर कालीगण्डकी वार पार गरौँला भन्ने सपना थियो तर ठेकदारकाे लापरबाहीले पक्की पुल बन्ने आशा मरेर गए पनि विकल्पको एउटै झाेलुङ्गे पनि बगे पछि निकै टाढाकाे अत्राैली पुल तरेर काेखे आइपुगेको रूपटारका मोतीलाल नेपालीले बताए ।
दुरीका हिसावले गड्गडीघाटकाे पुल पूर्व पश्चिम महेन्द्र राजमार्ग र पहाडी पृथ्वी राजमार्गलाई जोड्ने सेतुएवं छाेटाे पहुचमार्ग हाे ।
नवलपरासी पूर्व नवलपुरकाे कावासाेती,दलदलेबाट केवल ७९ किलोमिटरकाे सडक मार्गले तनहुँकाे खैरेनीटार छिचाेल्ने भएकाेले यी २ जिल्लाका पहाडी बस्तीको संगम गड्गडीघाटमा पुलकाे निर्माण कार्य द्रुत गतिमा हुनुपर्ने स्थानीयवासीको भनाई रहेको छ ।
स्थानीयहरू गड्गडीमा समयमै पक्की पुल बन्ने हाे भने यहाँका अर्खला,राईकाेट,भारतीपुर,ढाँसी,बुलिङ्ग,डाँडाझेरी,क्षेत्रका सुन्तला,कागती,अमिलो,अदुवा,अम्रिसो जस्ता कृषि जन्य उत्पादनले पाेखरा,दमौली सम्मको बजार पाउने बताउँछन् ।











प्रतिक्रिया