लागुऔषधसहित दश पक्राउ



काठमाडौं ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित सीमा इलाकाबाट चैत्र ४ गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित चितवन जिल्लाको राप्ती नगरपालिका–७ बस्ने २४ वर्षीय करण गुरुङलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उनको साथमा डाइजापाम ३ वटा, नोफिन २ वटा र फेनारागन ७ वटा लागुऔषध फेला पारिएको हो ।यसै गरी पर्सा जिल्लाकै वीरगन्ज महानगरपालिका १६ स्थित सीमा इलाकाबाट चैत्र ०३ गते सशस्त्र प्रहरी बल नेपाल बीओपी वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले नुवाकोट जिल्लाको झिलिङ्ग गाउँपालिका २ बस्ने २५ वर्षीय निरज पुडासैनीलाई नाईट्राजेपाम ट्याब्लेट ६० वटा र स्पाड्रोक्स ट्याब्लेट ३२ वटा सहित पक्राउ गरेको छ ।

त्यसै गरी झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित सीमा इलाकाबाट चैत्र ०३ गते सशस्त्र प्रहरी बल नेपाल बीओपी महेशपुरबाट खटिएको सशस्त्र प्रहरीले लुपिजेसिक १ सय ८९ एम्पुल र फेनारागन १ सय ३२ एम्पुलसहित भारतमा घर बताउने २७ वर्षीय फोगडा कुस्कु र २९ वर्षीया रिता मरण्डीलाई पक्राउ गरेको छ ।

यसै गरी मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ४ स्थित आइतबारेबाट चैत्र ०२ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको सशस्त्र प्रहरीले ट्रमाडोल हाइड्रोक्लोराइड ट्याब्लेट २० वटा, स्पासपेन ट्याब्लेट २० वटा र नाइट्रोजेपाम ट्याब्लेट ३ वटासहित सोही ठाउँ बस्ने २२ वर्षका विशाल लिम्बु र कुमार राईलाई पक्राउ गरेको छ ।

त्यसै गरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा इलाकाबाट चैत्र ०१ गते सशस्त्र प्रहरी बल नेपाल बीओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले ९० बोतल कोडिल, १२ वटा नाइट्रोभेट ट्याब्लेट र २० बोतल कफ केयरसहित सोही जिल्लाको वागमती नगरपालिका बस्ने आकाश बल र जयराम मण्डललाई पक्राउ गरेको छ ।

यसै गरी कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सीमा इलाकाबाट चैत्र ०२ गते सशस्त्र प्रहरी बल नेपाल फरवाड सुरक्षा बेस कार्गिलडाँडाबाट खटिएको सशस्त्र प्रहरीले २ सय ५६ वटा नाइट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बस्ने १८ वर्षीय रोशन गुरुङ्ग र २३ वर्षीय भुवन भट्टराईलाई पक्राउ गरेको छ ।

से६प ३८९१ नम्बरको मोटरसाइकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त लागुऔषध फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाइकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई बरामद लागुऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्