नाबालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ



बैतडी, (नेस) ।

नाबालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

जिल्लाको तल्लोस्वराडकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तामाङले बालिकालाई बलात्कार गरेको स्वीकारेका छन् । चैत ४ गते साँझ स्थानीय जंगलमा घाँस काट्न गएको मौका छोपेर तामाङले नाबालिकालाई बलात्कार गरेको खुल्न आएको खड्काले बताउनुभयो । गुरुङले सहयोगी भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ ।

उहाँले भन्नुभयो– ‘तामाङले बलात्कार गरेका रहेछन्, गुरुङ पनि बलात्कार गर्न भनी गएका र नाबालिकाले चिच्याएर हल्ला गरेको भन्ने बुझिएको छ ।’उनीहरूविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङ र तामाङ पाटन–पञ्चेश्वर सडक निर्माणको काम गर्न बैतडी आएका हुन् । उनीहरू दुवै जना विवाहित रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्