परम्परागत पुख्र्यौली पेसा संकटमा



मुगु ।

आधुनिक बाजागाजा, मोबाइल, यमपी थ्री, डिजेलगायतका कारण पञ्चेबाजा मुुगुमा लोप हुँदै गएको छ । पञ्चेबाजा लोप हुँदै गएपछि परम्परागत र पुख्र्यौली पेसा लोप हुँदै जान थालेका छन् ।

आधुनिक बाजाकै कारण पञ्चेबाजा लोप हुँदा पुख्र्यौली पेसाबाट पलायन हुनुपरेको छायाँनाथ रारा नगरपालिका–१ डाँडाबाडाका कालीबहादुर परियार बताउनुहुन्छ । ‘गाउँघरमा पूजाआजा, विवाह र विभिन्न पर्वमा पनि आधुनिक बाजाको प्रयोग हुन थाल्यो’, उहाँ भन्नुहुन्छ– ‘बालबालिकादेखि वृद्धसम्मले मोबाइल प्रयोग गर्न थालेपछि पञ्चेबाजाको चलनै हरायो ।’ परियारले ५ वर्ष अघिसम्म विभिन्न मेलापर्वमा पञ्चेबाजा बजाउने गर्थे ।

अहिले दमाहा, ट्याम्के, सहनाई, झ्याली र ढोलकको प्रयोग हुनै छाडेको छ । उहाँले कुनै बेला पञ्चेबाजा बजाएरै महिनामा ३० हजार रुपियाँसम्म कमाउने गर्नुहुन्थ्यो । पञ्चेबाजाको संरक्षणका लागि गाउँमा समूह गठन गरी पञ्चेबाजालाई व्यावसायिक बनाउन खोजे पनि सफल नभएको परियारको भनाइ छ । धेरैले बाजा बजाउने पेसा छाडेको उहाँको गुनासो छ । परियारका अनुसार २ वर्षअघि खोलिएको समूहमा अहिले बाजा बजाउने मागै आउन छोडेको छ । ‘विगतमा महिनामै १५/२० ठाउँबाट माग आउथ्यो’, उहाँ भन्नुहुन्छ– ‘विवाह, पूजाआजा र मेलाहरूमा बाजा बजाउन भ्याइनभ्याइ हुन्थ्यो, अब त ती दिन सपनाजस्तै लाग्छ ।’ अहिले कहिलेकांही सदरमुकाममा हुने ठूला कार्यक्रममा मात्र बाजा बजाउने माग आउने गरेकाले पञ्चेबाजा घरमा थन्क्याएर राख्नुपरेको उहाँको गुनासो छ ।

पञ्चेबाजा लोप हुन थालेपछि बाजा बजाएर जीविकोपार्जन गर्नेलाई मजदुरीका लागि भारत जानुपर्ने बाध्यता रहेको सोरु गाउँपालिका–२१ का सुगे नेपाली बताउनुहुन्छ । परम्परागत बाजाको संरक्षणमा स्थानीय तहले समेत चासो नदिएको उहाँको गुनासो छ । घरमा पञ्चेबाजा त्यत्तिकै थन्काएर राख्दा कीराले नष्ट गर्ने डर रहेको पनि नेपालीको चिन्ता छ । ‘आधुनिक बाजाको माग अत्यधिक भएकाले नयाँ पुस्ता बाजा बजाउन र सिक्न नै चाहँदैन’, उहाँ भन्नुहुन्छ– ‘अब त हाम्रो पुस्ता सकिएपछि बाजा पनि सकिन्छ, कुनै बेला बाजा सजावटको वस्तु पनि रहने छैन भन्ने लाग्छ ।’

दुई दशकदेखि पञ्चेबाजा बजाउँदै आएका सोरू गाउँपालिका–९ का लाल नेपालीले सशस्त्र द्वन्द्वका बेलादेखि नै पञ्चेबाजाको चलन कम हुँदै गएको बताउनुभयो । ‘ऊबेला मेला पर्वमा माओवादीले बाजा बजाउनै दिँदैनथे, शान्ति प्रक्रियापछि सबैका हातहातमा मोबाइल हुन थाल्यो,’ उहाँ भन्नुहुन्छ– ‘मोबाइलमै गीत सुन्ने चलनले गर्दा परम्परागत गीतहरू पनि लोप हुँदै गएका छन् ।’ अहिले महिनामा १/२ पल्ट मात्र पञ्चेबाजा बजाउन माग आउने गरेको नेपालीको भनाइ छ ।

‘पञ्चेबाजा बज्नेबित्तिकै वरपरका ४/५ गाउँसम्म गुञ्जायमान हुन्थ्यो’, उहाँ सुनाउनुहुन्छ– ‘सानो पूजाआजा भए पनि आसपासका गाउँमा थाहा हुन्थ्यो, पञ्चेबाजासँगै पुराना नाच पनि हराउँदै गएका छन् ।’

प्रतिक्रिया दिनुहोस्