भलिबलको क्वार्टरफाइनल समीकरण पूरा



काठमाडौं ।

दशौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण बुधबार पूरा भएको छ । क्वार्टरफाइनल खेलमा आँधीखोल युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौँ युवा क्लब तथा भंगरा युवा क्लब र पञ्चमूल सिरुवारी युवा क्लबबीच हुनेछन् ।

लिगको अन्तिम चरणमा सात खेल सम्पन्न भए । त्यसमा दरौले दरौखोलालाई २–१, आँधीखेलाले माझकटेरी युवा क्लबलाई २–०, राङखोलाले राम्चे युवा क्लबलाई २–० र पञ्चमुल सिरुवारीले नव दृष्टि युवा क्लबलाई २–० को सेटमा पराजित गरे ।

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको अन्य लिग खेलमा छेवाङले महाशिला ‘बी’ लाई २–०, भंगाराले क्षेत्री समाज युवा क्लबलाई २–१ र हिले युवा क्लबले प्रगतिशिल युवा क्लबलाई २–१ को सेटमा हराए ।

बुधबारै स्व. शिरशुभा/गम्भीरमान सिंह गुरुङ स्मृति खेल मैदान पनिको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कांग्रेस नेतृ सरस्वती गुरुङले मैदानको संयुक्त उद्घाटन गरे । आयोजककै उक्त मैदानमा आयोजकले नै करिब २० लाख खर्चमा खेल मैदान निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्