युक्रेनको समर्थन गरेकोमा झलनाथको विरोध

0
Shares

विराटनगर ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताउनुभएको छ । विराटनगरमा बुधबार आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

भर्खरै अमेरिकाले आयोजना गरेको डेमोक्र्याटिक समिटमा प्रधानमन्त्री देउवा सहभागी भएको विषयमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘यो डेमोक्र्याटिक समिट भनेको तथाकथित अमेरिकी एलिटहरुको हो’, खनालले भन्नुभयो– ‘डेमोक्रेटिक समिटमा हाम्रो प्रधानमन्त्री किन सहभागी हुनुभएको हो ? उहाँ के अमेरिकी शिविरको मान्छे हो ? यो मेरो प्रश्न हो ।’ नेपाल जस्तो असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रका कार्यकारी प्रमुखले यस्तो गर्न नहुने बताउँदै उहाँले नेपालले युक्रेनको घटनाबाट पनि पाठ सिक्नु जरुरी रहेको बताउनुभयो ।

भारत र चीनजस्ता मुलुकसमेत तटस्थ भूमिका खेलिरहेको अहिलेको अवस्थामा नेपाल जस्तो मुलुकले हतारमा टाढाको मुलुकको विषयमा प्रतिक्रिया दिनु राम्रो नभएको खनालको भनाइ थियो । खनालले ५ सय वर्षदेखिको पश्चिमाको दबदबा अन्त्य हुँदै गएको टिप्पणीसमेत पनि गर्नुभएको थियो । ‘अमेरिका पछाडि हटिरहेको छ, कमेडियन राष्ट्रपतिलाई उचाल्यो तर, अमेरिकाले केही गर्न सक्दैन’, खनालले भन्नुभयो– ‘अफगानिस्तानमा के भयो ? अमेरिका भागेको होइन, युक्रेनमा उक्साएर भागेको होइन ?’ यो कुरालाई ध्यान दिएर मात्रै नेपाल अगाडि बढ्नसक्ने उहाँको कथन छ ।

खनालले एमालेलाई संसद् फोविया भएको बताउनुभयो । ‘धन्दुकारीले पाएको अवसर, देशको आवश्यकता नबुझेर, दक्षिणपन्थी अवसरवादको बाटोमा लागेर फुटवादतिर लगे’, उहाँले भन्नुभयो– ‘ओलीले सत्ता केन्द्रीकरण गरे, त्यसपछि पार्टीले आलोचना गर्दा असहयोगको नाममा संसद् निमोठ्ने पटक–पटक प्रयास भयो । अहिले प्रतिपक्षीमा हुँदा पनि नारा लगाएर संसद् चल्नै नदिने भनेको संसद फोविया हो । यो जबज विरोधी हो ।’

खनालले निर्वाचन अगाडि कम्युनिस्ट एकताले देश अग्रगतितिर जान्छ भन्ने भावना उर्लिएको थियो भन्दै जसका कारण नेकपाले झन्डै दुई तिहाइ मत प्राप्त गरेको बताउनुभयो । ‘कम्युनिस्टको दुई तिहाइ मतसहितको संसद्लाई अत्यन्तै कुशलतापूर्वक अगाडि बढाउनुपर्ने थियो । जनमुखी बजेट ल्याएर हामीले धेरै प्रगतिशील काम गर्न सक्थ्यौं’, उहाँ भन्नुहुन्छ– ‘उहाँले त्यो अवसरको सदुपयोग गर्न सक्नुभएन ।’ एमालेले १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राख्नु पिँधबिनाको माग भएको खनाको भनाइ छ ।

आफूले सभामुखलाई महाअभियोग लगाउने विषय पनि सुनेको भन्दै खनालले त्यसको कुनै अर्थ नभएको बताउनुभयो । ‘सभामुखलाई महाअभियोग कसरी लाग्छ ? दुई तिहाइ मत कोसँग छ ? यो पिँध नभएको माग हो, दक्षिणपन्थीहरू यहाँसम्म पनि पतित हुन्छन् भन्ने उदाहरण हो ।’ –खनालले भन्नुभयो । उहाँले सहमतिको बुँदामा आधारित भएर गठबन्धन बनेको बताउँदै असहमतिको बुँदाले गठबन्धनलाई असर पार्न नहुने पनि बताउनुभएको थियो । कार्यक्रमका वक्ताहरुले पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान रहेको बताएका थिए ।