अब वालिङमै माटो परीक्षण



स्याङ्जा, (नेस) ।

अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो ।

माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरूमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्नका लागि प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

‘पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीहरूको प्रयोग गर्ने क्रम बढेको छ’, उहाँले भन्नुभयो– ‘जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिन गई उत्पादन घट्दै गएकाले माटोको उपचार तथा संरक्षणका लागि आधुनिक प्रविधिको ल्याब स्थापना गरी सञ्चालनमा ल्याएका हौं ।’

नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायनहरू खरिद गरेर ल्याएको छ । सञ्चालनमा आएको प्रयोगशालाबाट निशुल्क रूपमा किसानले ल्याएको माटोको नमुना परीक्षण गरिदिने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।

डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, ईसी, प्राङ्गारिक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिङ्क, आइरन लगायतका १४ प्रकारका खाद्यतत्वहरूको जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताउनुभयो । ‘शुरुवाती चरणमा किसानले ल्याउनुभएको माटो निशुल्करूपमा जाँच गरी प्राप्त नतिजाका आधारमा माटोको सुधारका लागि आवश्यक परामर्श दिन्छौं’, शाखा प्रमुख अर्यालले भन्नुभयो– ‘नगरका १४ वटै वडामा पुगेर किसानहरुलाई माटोको नमुना कसरी लिने भन्ने तरिका प्रदर्शन गरी अभ्यस्त बनाईसकेपछि माटो परीक्षण सेवालाई थप नियमित र प्रभावकारी ढंगले अगाडि बढाउनेछौं ।’

उक्त प्रयोगशालाबाट माटोमा भएका विभिन्न १४ वटा खाद्यतत्वहरूको डिजिटल प्रविधिबाट यथार्थ विवरण प्राप्त हुने भएकाले पनि छिटो, छरितो र प्रभावकारी हुने शाखा प्रमुख अर्यालले बताउनुभयो ।

माटोमा रहेका विभिन्न खाद्यतत्वहरूको अवस्थाको बारेमा जानकारी पाई माटोको उपचार तथा संरक्षण गर्नका लागि सहज हुने विश्वास रहेको वालिङ–८ का किसान हरिप्रसाद बगालेले बताउनुभयो । नगरपालिकाले आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएसँगै यहाँका किसानहरू हर्षित छन् ।

प्रतिक्रिया दिनुहोस्