कांग्रेसमा सभापतिका तीनजना उम्मेदवार : संस्थापनमा आधिकारताको लडाइँ



बाँके ।

नेपाली कांग्रेस, बाँकेको सभापतिका लागि तीन जना मैदानमा उत्रिएका छन् । संस्थापन पक्षबाट दुई र कोइराला समूहबाट एक जनाले सभापतिमा उम्मेदवारी दिएर प्रचार प्रसारमा निस्केका छन् ।

कांग्रेस बाँकेको फागुन १९ गते मतदान हुँदै छ । मतदान हुनु दुई दिनअघि संस्थापन समूहमा आधिकारिकताको लडाइँ शुरू भएको छ । दुवै जनाले संस्थापन समूहको आधिकारिक उम्मेदवार भन्दै कार्यकर्तासँग मत मागिरहेका छन् ।

संस्थापन समूहबाट लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल र सभासद् बादशाह कुर्मी तथा कोइराला समूहबाट नारायण गौडेलले सभापतिमा उम्मेदवारी दिएका छन् । गौडेल पक्ष एकमना एक साथ मत माग्न व्यस्त रहँदा संस्थापन पक्षमा आधिकारिकताको जुहारी भइरहेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले मंगलबार पत्रकार सम्मेलन गरेर सुरेन्द्र हमाल नै संस्थापन समूहको आधिकारिक उम्मेदवार रहेको बताउनुभयो । केन्द्रीय सदस्य वाल्मिकीले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आफूलाई फोनमा भनेको कुरा सार्वजनिक गर्दै भन्नुभयो, ‘म बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवासँगै छु । हाम्रो आधिकारिक उम्मेदवार सुरेन्द्र हमाल हो । त्यही अनुसार कार्यकर्तालाई भन्नुस् ।’

अर्का उम्मेदवार कुर्मीले पनि आफू संस्थापनको आधिकारिक उम्मेदवार भएको बताइरहनु भएको छ । मंगलबार नै पत्रकार सम्मेलन गरेर कुर्मीले आफूलाई पार्टीका सहमहामन्त्रीले संस्थापनको आधिकारिक उम्मेदवार रहेको बताउनुभएको जानकारी दिनुभयो । कुर्मीको पत्रकार सम्मेलन सहमहामन्त्री राठौर देखिनु भएन । देउवाका निकट मानिने राठौर र केन्द्रको सर्कुलर बाँझिदा संस्थापनको आधिकारिक उम्मेदवारमा जुँगाको लडाइँ भइरहेको छ ।

कांग्रेसमा सभापतिमा निर्वाचित हुँदा ५० प्रतिशतबढी मत ल्याउनुपर्छ । त्रिपक्षीय भिडन्त भयो भने कसैको पनि पहिलो चरणमा ५० प्रतिशत मत कट्दैन भन्ने आँकलन गरिएको छ । पहिलो चरणमा कुनै नेताले ५० प्रतिशत मत कटाएन भने दोस्रो चरणमा निकटम प्रतिस्पर्धीका बीचमा फेरि चुनाव हुन्छ ।

संस्थापनका दुई नेताका बीचमा जसले धेरै मत ल्याउँछ उही नै दोस्रो पक्षमा सर्वस्वीकार्य उम्मेदवार हुने नेताहरूले बताउन थालेका छन् । गौडेल पक्षले संस्थापनमा दुई जनाको लडाईका बीचमा पहिलो चरणमा ५० प्रतिशत बढी मत ल्याउने तयारी गरिरहेको जनाएको छ । गौडेल पक्षले छुट्टै प्यानल बनाएर मत मागिरहेको छ । संस्थापन पक्षमा सभापतिबाहेक अरू पदमा साझा उम्मेदवार रहेका छन् ।

कोइराला समूहको विरासत तोड्न कस्सिएको संस्थापन समूह आपसमा लडिरहेको छ । पालिका र क्षेत्रको नेतृत्व हेर्दा संस्थापन समूह बलियो रहेको छ । आठ वटा पालिकामध्ये पाँच र तीन वटा क्षेत्रमध्ये दुई वटामा संस्थापन पक्षले चुनाव जितेको छ । जीतको आधार देखिएकाले पनि संस्थापनमा नेताहरूको चर्को लडाई रहेको छ । कोइराला पक्ष आफ्नो विरासत जोगाउन लागि परेको छ । बाँकेमा अहिलेसम्म देउवा पक्षले सभापति जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्