आश्रम निर्माणका लागि भूमि दान



काठमाडौं, (नेस) ।

बर्दिया क्षेत्र नं १ का सासंद तथा पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले आध्यात्मिक ज्ञानको प्रचार गर्न भूमिदान दिनेहुनुभएको छ । उहाँले नेपाल मानव धर्म सेवा समिति बर्दियाका लागि आश्रम निर्माण गर्न भूमि दान दिने संकल्प गर्नुभएको हो । महाशिवरात्रीको अवसर पारेर नेपाल मानव धर्म सेवा समिति, काठमाडौंले आयोजना गरेको विशेष सत्सङ्ग समारोहमा उहाँले यस्तो संकल्प गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गौतमले अध्यात्मविना राजनीति मात्र अगाडि बढ्न नसक्ने बताउनुभयो । त्यसैले, अबका दिनमा राजनीतिसंगै अध्यात्मलाई पनि अगाडि लिएर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सत्सङ्ग कार्यक्रममा बोल्दै समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली वाईजीले शिवरात्रिमा आफ्नै प्राणेश्वरको ध्यान गर्नुपर्ने बताउनुभयो । अशान्त मनलाई अध्यात्मले मात्र शान्त बनाउन सक्ने भएकाले मन शान्त बनाउन पनि ध्यान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जति मन वैराग्य भयो उति नै ध्यानमा मन लाग्ने भएकाले मनलाई वैराग्य बनाउनुपर्नेमा उहाँको जोड थियो । सो अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन् । समितिमा आबद्ध व्यक्ति तथा अन्य व्यक्तिले कार्यक्रममा रक्तदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्