महाशिवरात्रि तथा सेना दिवस मनाइयो



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुभयो ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका ‘सिपाही–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाली आर्मी’ पुस्तक विमोचनका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने अमल्दार वसन्तकुमार चन्द र द्वितीय हुने सुवेदार किसान पौडेललाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो ।

सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत सङ्गीतसमेत प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकोप्टरबाट ब्यानर प्रदर्शन, हेलिकोप्टर प्रदर्शनी, सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्ले गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम–मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

यसै गरी मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो ।

समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुर्याएका महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभयो । समारोहको प्रारम्भमा प्रधानसेनापति शर्माले तारादल गणलाई ब्यानर प्रदान गर्नाका साथै उत्कृष्ट कार्य गर्ने अन्य विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरिएको थियो ।

महाशिवरात्रिमा सयभन्दा बढीले गरे रक्तदान
कोरोना महामारीपछि रगत अभाव भइरहेको समयमा शिवरात्रीको दिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा सय भन्दा बढीले रक्तदान गरेका छन् । नेपाल मानव धर्म सेवा समिति, गौशालाको प्रांगणमा रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल मानव धर्म सेवा समिति सबैभन्दा बढी रक्तदान गर्ने संस्थामध्ये एक हो । २०७० सालमा समिति व्लड डोनर एसोसियसनबाट सबैभन्दा बढी महिला रक्तदाता गराउने संस्थाको रूपमा सम्मानित भएको थियो । ब्लड डोनर एसोसियसनका अनुसार रगतको कमि पूरा गर्न सस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको २ प्रतिशतले रक्तदान गरे रगतको कमिलाई पूरा गर्न सकिन्छ । तर रक्तसञ्चार सेवा केन्द्रका अनुसार नेपालमा एक प्रतिशत भन्दा पनि कमले रक्तदान गर्दै आएका छन् । यस्तो अवस्थामा सस्थाको योगदान महत्वपूर्ण रहेको एसोसियसनका कोषाध्यक्ष मचकाजी महर्जन बताउनुहुन्छ । विज्ञानले सबैकुराको विकाश गरे पनि रगतको विकाश गर्न सकेको छैन । यदि कसैलाई रगतको कमि भए त्यसलाई पुरा गर्न स्वस्थ व्यक्तिबाट रगत लिनुको अर्को विकल्प नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

समितिबाट २०७८ असोज ६ मा ४ सय ३ जनाले रक्तदान गरेका थिए । २०७७ फागुन २७ मा एक सय आठ जनाले रक्तदान गरेका थिए । त्यस्तै २०७६ जेठ ३२ मा करिब एक हजार पिन्ट रगत संकलन गरिएको थियो भने असोज ४ मा देशभरिबाट १ हजार २ सय ३७ जनाले रक्तदान गरेका थिए । समितिले विभिन्न अबसर पारेर पटकपटक रक्तदान गराउने तथा पशुपति तथा गौशाला परिसरमा पशुपति क्षेत्र विकास कोषसंग समन्वय परि सरसफाई जस्ता समाजिक सेवाका कार्यक्रम गर्दै आएको छ ।

तस्बिर : नेपाली सेनाको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्