बलिङ उत्कृष्ट, ब्याटिङ खराब



काठमाडौं ।

आयरल्यान्डविरुद्धको खेलमा बलिङ उत्कृष्ट भए पनि ब्याटिङ खराब हुँदा नेपाली टिमले हारको सामना गर्नुपरेको छ । सोमबार भएको चार देशीय टी–२० आई सिरिजअन्तर्गत् आयरल्यान्डसँगको खेलमा नेपाल १७ रनले हारेको हो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै १ सय २८ रनको सामान्य लक्ष्य निर्धारित गराएर जित्ने जिम्मा ब्याटरलाई लगाएका थिए । तर, ब्याटरहरूले खराब प्रदर्शन गरेपछि नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन हारले छायाँमा परेको थियो । प्लेयर अफ द म्याच घोषित उनले बलिङमा ४ विकेट लिए भने ब्याटिङमा २८ रन जोडेका थिए ।

यो नेपालको सिरिजमा तीन खेलमा दोस्रो हार थियो । नेपालले पहिलो खेलमा घरेलु टिम ओमानलाई ६ विकेटले हराएर सिरिजमा राम्रो शुरुवात गरेको थियो । यसपछि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्ससँग २५ रनले हार व्यहोरेको नेपाल तेस्रो खेलमा पनि पराजित नै भयो । इमिरेट्ससँग लक्ष्य निकै कठिन थियो, तर आयरल्यान्डविरुद्ध जित्ने संभावना भए पनि नेपालले असफल ब्याटिङको कारण हार स्विकार गर्नुपर्यो ।

नेपालले कुशल भुर्तेल र आशिफ शेखको जोडीबाट लक्ष्यमा पुग्न जवाफी ब्याटिङ शुरु गरेको थियो । यो जोडी पहिलो विकेटका लागि २६ रन जोडेर तोडियो । कुशल १५ रन जोडेर आउट भए । अर्को १० रन थपिदा नेपालले दोस्रो विकेटको रूपमा लोकेश बम (६ रन) लाई गुमाएको थियो । यसपछि आशिफ र दीपेन्द्रसिंह ऐरीले टिमको स्कोर ५० सम्म पु¥याए । आशिफले २३ रन बनाएर पभेलियनको बाटो लिए, जुन टिमका लागि दोस्रो उच्चतम व्यक्तिगत योगदान सावित भएको थियो ।

११ ओभरसम्म ३ विकेटको क्षतिमा ६१ रनको योगफल नेपालको लागि सहि ब्याटिङ भइरहेको थियो । तर, १२औं र १३ औं ओभरमा दुई महत्वपूर्ण विकेट गुमाउनु नै नेपाललाई ब्याकफुटमा पुर्याएको थियो । १२ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र मल्ल (५ रन) र १३ औं ओभरको दोस्रो बलमा शरद भेषवाकर (१ रन) लाई गुमाएको थियो । यसपछि दीपेन्द्रसिंहले १ छक्का १ चौका हानेर नेपाललाई केही आस जगाए । उनी पनि २८ रन जोडेर आउट भएपछि नेपालको जित्ने झिनो सम्भावना पनि सकियो । यद्यपि, कमलसिंह ऐरीले पनि १ छक्का १ चौका हानेर जित्ने आसलाई ब्युँताउन खोजे तर, उनी पनि १३ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने (१ रन) नवौं विकेटको रूपमा आउट भएका थिए ।

यसअघि, आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । नेपालको लागि दीपेन्द्रसिंहले २१ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट बलिङ पस्केका थिए । अन्य बलरमा अबिनाश बोहराले २ विकेट लिए भने कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीपले १/१ विकेट हासिल गरेका थिए ।

वसन्तपछि सन्दीपले लिए ५० विकेट
सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट करियरमा ५० औं विकेट हात पारेका छन् । उनले आयरल्यान्डविरुद्ध जर्ज डोकरेलको विकेट लिएपछि २९ खेलमा ५० विकेट लिन सफल भए । यसका साथै उनी नेपालको तर्फबाट टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने दोस्रो बलर बनेका छन् । यसअघि वसन्त रेग्मीले उक्त फरम्याटमा ५० विकेट लिएका थिए । वसन्तले ४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै कुल ५३ विकेट हासिल गरे ।

टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो ५० विकेट लिने सूचीमा श्रीलंकाका बलर अजन्था मेन्डिस पहिलो स्थानमा छन् । उनले २६ खेलमा सो उपलब्धि हासिल गरेका थिए । दोस्रो स्थानमा आयरल्यान्डका बलर मार्क आदिर छन् । आदिरले २८ खेल खेलेर ५० विकेट लिएका थिए । यसपछि, तेस्रो स्थानमा सन्दीपको नाम आएको छ । सन्दीपपछि अफगानिस्तानका राशिद खान र दक्षिण अफ्रिकाका इमरान ताहिर रहेका छन् । यी दुबै बलरले समान ३१ खेलमा ५० विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्