हारबाट जोगियो बार्सिलोना



मेड्रिड, (एजेन्सी) ।

इन्जुरी समयमा लुक डि जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । आइतबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले १० र स्पान्यालले नौ खेलाडीमा खेल सकेको थियो । घरेलु मैदानमा स्पान्योलका सर्गी डार्डेर र राउल डे टोमसले गोल गरे । बार्सिलोनाका पेड्री र लुक डि जोङले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । दोस्रो मिनेटमै पेड्रीले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि ४०औं मिनेटमा सर्गी डार्डेरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले राउल डे टोमसको पासमा गोल गरेका थिए ।

खेलको ६४औं मिनेटमा राउल डे टोमसले सर्गीको पासमा गोल गर्दै स्पान्योललाई अग्रता दिलाए । अन्तिम समयमा खेल तनावपूर्ण बन्यो । इन्जुरी समयमा विवादमा उत्रिएपछि बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए । त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए । इन्जुरी समयकै छैटौं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । ८८औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका डि जोङले एडमा ट्राओेरेको पासमा गोल गरेका थिए । लगत्तै मनु मोर्लानेसलाई रेफ्रीले सोझै रातो कार्ड देखाएपछि स्पान्योलले नौ खेलाडीमा खेल सकेको थियो ।

६४ प्रतिशत बल पोसेसन राखे पनि बार्सिलोनालाई हार टार्न हम्मे हम्मे परेको थियो । स्पान्योलका राउल डे टोमस ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै बार्सिलोनाको २३ खेलबाट ३९ अंक छ । समान ३९ अंक बनाएको एट्लेटिको मेड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । एक खेल बढी खेलेको स्पान्योल २८ अंक सहित १३औं स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले १० खेलाडीमा समेटिएको लिभान्तेलाई ४–२ गोलले हरायो । जितसँगै बेटिसले २४ खेलबाट ४३ अंक बनाएको छ । पराजित लिभान्ते ११ अंक छ । अन्य खेलमा सोसिडाडले ग्रानाडालाई २–० तथा अलाभेसले भ्यालेन्सियालाई २–१ गोलले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्