कीर्तिपुरको विजयी सुरुआत



काठमाडौं, (नेस) ।

कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी सरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्यो । कीर्तिपुरले चारै क्वार्टरमा अग्रता लियो । कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रता बनाउँदै विजयी सुरुआत गरेको हो । कीर्तिपुरको सहज जितमा सोमन महर्जनले २४ अंक योगदान गरे । बीएमकेका मिलन मल्ल २९ स्कोर गरे पनि जितका लागि पुगेन ।

पुरुषमै सुजन महर्जनको ३१ अंक सहयोगमा ड्रिम टिमले शंकर देव क्याम्पसलाई ८३–४८ ले सहजै हरायो । शंकरदेवका राजेश ठकुरीले १६ अंक जोडे । पहिलो क्वार्टरमा १५–१४ को झीनो अग्रता लिएको ड्रिम टिमले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । ड्रिम टिमले दोश्रोमा २३–१३, तेश्रोमा ३२–१२ र चौथोमा १३–९ अंक जोड्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा रोयल बास्केटबल एकेडेमीले ललितपुर हाइमाथि ४८–३९ को जित दर्ता गर्यो । पहिलो क्वाटरमा १४–१० को अग्रता बनाएको रोयल दोश्रोमा ९–९ को बराबरीमा रोकियो । तेश्रो क्वाटरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो । चौथो तथा अन्तिम क्वार्टर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो ।

आयोजक संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको स्व. लामाका पिता लामा पासाङ शेर्पा र दाइ नवाङ निमा लामाले उद्घाटन गरे । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्